पाेहाेर–परार गाईभैँसीले खाने स्याउ यसपालि जहाज चढेर तराईसम्म

 भदौ ३१, २०७७ बुधबार १७:८:५१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराकाे पूर्वाेत्तर क्षेत्रका चार पालिकाका नागरिकले स्याउ खेती गर्दै आएका छन् । यहाँ दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । हरेक वर्ष औसत एक हजार ५० मेट्रिन टन स्याउ उत्पादन हुने गरेको छ । यस वर्ष स्याउको फूल फुल्ने समयमा असिना पानीका कारण २५ प्रतिशत उत्पादन घटेको छ ।

एक वर्षअघि सम्म पनि उत्पादन भएकाे स्याउ बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिन्थ्याे, किसानले गाईभैँसीलाई खुवाउँथे । तर अहिले उत्पादन भएको स्याउ कोल्टी विमानस्थलबाट नेपालगञ्ज, धनगढीलगायतका शहरमा गएको छ ।

‘२० वर्षदेखि स्याउमा लगानी गरियो, यसअघि हाम्रो स्याउ बारीमा कुहिन्थ्यो, गाईभैँसीलाई खुवाउथ्यौँ, यस वर्ष हाम्रो स्याउले जहाज चढेर गएको सुन्दा खुसी लागेको छ । अब हाम्रा पनि सुखका दिन आएछन् जस्तो लाग्छ’, स्वामी कार्तिक खापर गाउँपालिका ३ का पुरीन्द्र शाहीले बताउनुुभयो।

​स्वामी कार्तिक खापर गाउँपालिका ३ जुकोटमा उत्पादन भएको स्याउ गाउँमै थन्किन्थ्याे । बिक्रीका लागि बजार नहुँदा स्याउका दाना बारीमै कुहिने र किसानहरूले चौपायालाई आहारका रूपमा खुवाउनुको विकल्प थिएन । अहिले समय फेरियो, स्याउ लगाउनेले जहाज चढेका छैनन् तर उनीहरुले फलाएको स्याउले जहाज चढ्यो ।

जुकोटमा अधिकांश घरमा  दुई सयदेखि चार सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । स्थानीय भूपेन्द्र शाहीको बारीमा चार सय बोटमा लटरम्मै फल लागेको छ । यसअघिको वर्षमा उहाँले मुस्किलले एक/दुई हजार आम्दानी गर्नुभएको थियो तर अहिले बारीमै केजीको ४० रुपैयाँसम्म पाउनुहुन्छ ।

सडक सञ्जालले नजोडिएको यस जिल्लाका स्याउ खच्चरकाे सहायतमा कोल्टी विमानस्थलसम्म पुर्‍याएर जहाजमा राखेर तराईका बजारमा निर्यात हुँदै आएकाे छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया