इजरायली श्रम बजार नेपाली श्रमिकका लागि खुला, पहिलो चरणमा ५ सय नेपाली श्रमिक लैजाने

 असोज १५, २०७७ बिहिबार १०:५०:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।

बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गबी अश्केनाजीले हस्ताक्षर गर्नुभएको हो । केयर गिभरको क्षेत्रमा पहिलो चरणमा ५ सय नेपाली श्रमिक इजरायलले लैजाने छ ।

तर त्यसका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर हुने भने बाँकी रहेको छ । यो प्रोटोकलमा छिट्टै नेपालका लागि इजरायली राजदूत र नेपाली अधिकारीले काठमाण्डौमा हस्ताक्षर गर्ने दूतावासले जनाएको छ ।

नेपाली श्रमिक लैजान समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । नेपाली श्रमिकले इजरायलको केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल ररेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा रोजगारीको अवसर पाउनेछन् । तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुल्ला हुनेछ ।

सबैभन्दा पहिला इजरायलको नर्सिङ क्षेत्र अस्पताल, नर्सिङ होम्स्, डे केयर सेन्टर लगायतमा नेपाली श्रमिक लैजानका लागि छिट्टै नै इम्प्लिमेन्टेसन प्रोटोकलमा सम्झौता हुने दूतावासले जनाएको छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

यस्तै, ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने छ भने पूर्वाधार निर्माणको सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरूका लागि इजरायलको कृषि, सेवा क्षेत्र, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

साथै राजदूत डा. शाक्यले विभिन्न विधामा विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिनुभएको र इजरायली परराष्ट्र मन्त्री नेपालसँग सहकार्य गर्न इच्छुक रहेको दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया