'अपराधका घटना गाउँघरमै मिलाउँदा दण्डहीनता मौलायाे'

 असोज १६, २०७७ शुक्रबार २०:२२:३४ | सीताराम ओझा
unn.prixa.net

सम्झना विक प्रकरणमा पक्राउ परेका अभियुक्त राजेन्द्र बाेहाेरा

धनगढी – गएको बुधबार बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झना कामी बलात्कारपछि हत्या गरेको अवस्थामा घरभन्दा झण्डै दुई किलोमिटर टाढा सिम मन्दिरमा भेटिइन् । घटनाको अनुसन्धानका क्रममा बलात्कारपछि हत्या गरेको आशङ्कामा स्थानीय १८ वर्षीय राजेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गर्‍याे ।

बोहोरालाई पक्राउ गरेको हप्ता दिन नबित्दै गएको साउनमा पनि उनले गाउँकै १४ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भयो । तर स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाकै रोहबरमा घटना मिलापत्र गरिएको खुल्यो ।

सम्झनाको बलात्कारपछि हत्या गर्नुको उपज यसअघिको घटनामा मिलापत्र गरिनु नै रहेको पीडित पक्षले बताएका छन् । ‘त्यो घटना गाउँमै नमिलाएको भए अहिले अपराधी बोहोरा जेलमा हुन्थे । सम्झनामाथि कुदृष्टि लगाउन पाउने थिएन’, मृतक सम्झनाका काका बलम बिसी भन्नुहुन्छ, ‘तर उनलाई कारबाहीको दायरामा नल्याउँदा नानुको बलात्कारपछि हत्या भयो ।’

पालिकाका जनप्रतिनिधि र नागरिक अगुवाको राेहबरमा यसअघि बालिकामाथि भएको बलात्कारको घटनामा मिलापत्र गरिएको भए पनि अहिले जनप्रतिनिधि बेखबर जस्तै बनेका छन् ।

मष्टा गाउँपालिकाकी उपाध्यक्ष भगवती बोहोराले सम्झनाको बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएपछि मात्रै पुरानो घटनामा मिलापत्र गरिएको कुरा थाहा पाएको दाबी गर्नुभयो । ‘यसअघि गाउँमै घटना मिलाइयो भन्ने कुरा हामीलाई थाहा थिएन । जब सम्झनाको हत्या भयो, ती व्यक्ति पक्राउ परे, त्यसपछि मात्रै जानकारी पायौँ’, उहाँले भन्नुभयो । 

तर सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहोराविरुद्ध गाउँमै मिलापत्र गरिएको घटनाको समेत किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । सम्झना हत्या प्रकरणसँगै यसअघि १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरिएको घटनाको समेत अनुसन्धान भइरहेको छ ।

आरोपी बोहोरालाई गएकाे मङ्गलबार सार्वजनिक गरिएकाे हाे । दुवै घटनाको गम्भीर रुपमा अनुसन्धान भइरहेकाले मिलापत्र गर्ने र गराउने जाेसुकैलाई कारबाहीको दायरामा ल्याइने बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताउनुभयो । ‘जघन्य अपराधका घटना गाउँघरमै मिलापत्र गराउन पाइँदैन’, उहाँले भन्नुभयो, ‘हामी त्यो विषयमा अनुसन्धान गरिरहेका छौँ । घटना मिलाउनेलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।’ 

बझाङको यो प्रतिनिधि उदाहारण भए पनि सुदूरपश्चिममा अहिले पनि अपराधका घटना गाउँघरमै ढाकछोप गर्ने प्रवृत्ति रोकिएको छैन । निर्वाचित जनप्रतिनिधि र गाउँघरका 'टाठाबाठा' व्यक्तिले अपराध ढाकछोपमा भूमिका खेल्दा दण्डहीनता मौलाएपछि हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधका घटना बढ्न थालेका छन ।

तर स्थानीय प्रशासनले घटनामा संलग्नमात्र नभएर ढाकछोप गर्नेलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । महिला अधिकारकर्मी गोमा आचार्यले जघन्य प्रकृतिका अपराधलाई लुकाउने सबैलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । 

‘कानुनले समेत हत्या, हिंसा, बलात्कारजस्ता जघन्य प्रकृतिका घटनामा मिलापत्र गर्न नपाउने व्यवस्था गरेको छ’, उहाँले भन्नुभयो, ‘तर समाजमा यो क्रम नरोकिँदा दण्डहीनताले प्रशय पाउँदैछ । घटना मिलाउने जोसुकै भए पनि कारबाही हुनुपर्छ । अपराध ढाकछोप गर्न पाइँदैन ।’

अपराधका घटना गाउँघरमै मिलापत्र गर्ने प्रवृत्ति नरोकिँदा अपराध नियन्त्रणमा चुनौती थपिँदै गएको प्रहरीले बताउन थालेका छन् । घटना गाउँघरमै मिलाउँदा झन् ठूला घटना निम्तिएका उदाहरणलाई दृष्टिगत गरी जनचेतना फैलाउने तथा घटना लुकाउने व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउने काममा प्रहरी कटिबद्ध रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताउनुभयो । 

उहाँले जनचेतना फैलाउनेदेखि त्यस्ता काममा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने आश्वासन दिनुभयो । तर कतिपय अवस्थामा कानुन कार्यान्वयन र अपराध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरीसमेत जघन्य प्रकृतिका अपराधका घटना ढाकछोप गर्न लाग्ने गरेको आरोप लाग्दै आएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया