आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा केन्द्रको बारेमा विवाद हुँदा लगाएको ताला अझै खुलेको छैन । गएको असोज २६ गतेदेखि वडा नं ५ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र कठेगौडमा हुनुपर्ने मागसहित सङ्घर्ष समिति नै गठन गरेर तालाबन्दी गरेका थिए ।
गएको वर्ष गाउँपालिकाले वडा नं ५ कै पविता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।
असन्तुष्ट पक्षले लगाएको ताला मुचुल्का बनाएर खोल्ने क्रममा गएको असोज २८ गते गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिनुभयो । त्यस दिन भएको विवादमा गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका थिए ।
दशैँलगत्तै असन्तुष्ट पक्षसँग बसी छलफल गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताउनुभयो । यसरी लामो समयसम्म गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही समस्यामा परेका छन् । पालिकामा तालाबन्दी हुँदा गाउँपालिकाबाट प्राप्त हुने सेवा पाउन सकस भएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाको केन्द्र कसैले पबिता भन्ने ठाउँ उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले पहिलेकै ठाउँमा केन्द्र उपयुक्त हुने बताइरहेका छन् ।
यसरी पालिकाको केन्द्रको विवादलाई लिएर जनप्रतिनिधिमाथि नै आक्रमण भएपछि आफूहरुलाई असुरक्षा महसुस भएको जनप्रतिनिधिहरुले बताएका छन् ।
हरेक समस्या र विवादलाई छलफलबाट समाधान गर्नुको सट्टा उल्टै ढुङ्गामुढा नै गरेपछि अब त्यो ठाउँमा जान मुस्किल भएको वडा नं १ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो । आफूहरुको सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म त्यो ठाउँमा जान नसकिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।