महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं - राष्ट्रपति भण्डारी

 मंसिर १०, २०७७ बुधबार ६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ ।

‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले महिलामाथि हुने घटना रोक्नका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन आह्वान गर्नुभएको हो । 

उहाँले कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका भन्दै त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गरेर लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको बताउनुभयो । नेपालको संविधानले  हिंसामुक्त न्यायीक समाजको परिकल्पना गरेको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार, संविधानको  मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको बेला समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ ।

विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् । धेरैजसो हिंसा उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट हुने देखिएको छ ।
त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार हुने गरेका देखाएको छ ।

महिला हिंसा रोक्न आव्हान गर्दै आ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइँदै छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया