एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
कोरोना छेक्ने फेससिल्ड अनुहारमा लगाउन पाए कस्तो होला ? कोरोना छेक्छ भन्ने पत्यार नभए पनि एकपटक लगाएर हिँड्ने रहर चाहिँ पहिलेदेखि नै लागेको हो । तर चुनाव भन्ने ओली र आफ्नै नेतृत्वको सरकार भन्ने प्रचण्ड र नेपालको रहरजस्तै भएको छ फेससिल्ड लगाउने आफ्नो धोको पनि ।
फेससिल्ड कि डाक्टरले लगाउँछन् कि स्कुल कलेज पढ्ने ठिटाठिटी र जहाज चढ्नेले । आफू डाक्टर परिएन । स्कुल, कलेज जाने काम पनि पहिल्यै सकेको । कोरोनापछि जहाज चढ्ने मौका मिलेकै छैन । घर बस्दा लगाउने कुरो भएन । घरबाहिर त्यसै हिँड्दा मान्छेले मास्क त लगाउन छाडिसके, फेससिल्ड त झन् कुन आँटले लगाउनु । एकपटक जहाज चढ्न पाए त लगाउन पाइन्थ्यो भन्ने भइरहेको थियो । नभन्दै जहाज चढ्ने मौका मिल्यो ।
पहिले-पहिले जहाज चढ्दा परिचारिकाले मन्द मुस्कानसहित चकलेट र बदामको पोको कुन बेला ल्याउँछिन् भन्ने पर्खाइ हुन्थ्यो । यसपालि त्योभन्दा पहिलो पर्खाइ थियो फेससिल्डको ।
झोला भिरेर एअरपोर्ट जाने बेलामा लागेको थियो, गेटमै ज्वरो जाँच्न पेस्तोल आकारको थर्मोमिटर तेर्स्याउँछन्, मास्क लगाए नलगाएको हेर्छन् अनि त्यहीँ फेससिल्ड लगाइदिएर भित्र पठाउँछन् । एअरपोर्ट पुग्नेबित्तिकै दायाँबायाँ पल्याकपुलुक हेर्दै भित्र छिरेको, कसैले पनि फेससिल्ड लगाएका छैनन् । छेउमा बसेकी एकजना महिलाले पेस्तोल आकारको ज्वरो नाप्ने यन्त्र यसो टाउकोतिर तेर्स्याइन् । ल भित्र जानोस् भनेर पठाइन् ।
टिकट जाँच गर्ने काउन्टरमा दिन्छन् होला भन्ने लाग्यो । लाइनमा उभिएका साथी विशाल टिकटको पानो मात्रै हल्लाउँदै आए । फेससिल्ड चाहिँ गोजीमा लुकाएर राखे कि भनेर हेरेको हैन रैछ । अरुको हात र अनुहारमा पनि फेससिल्ड देखिएन ।
ए जहाजभित्र सिटमै दिने होला भन्ने लाग्यो । सरासर गएर आफ्नो सिटमा गएर हेरेँ, त्यहाँ पनि फेससिल्ड छैन । सिट अघिल्तिर पनि बमन थैली र आपतकालीन अवस्थामा के गर्ने भनेर लेखिएको कागज मात्रै छ । ए एकछिनमा परिचारिकाले चकलेटसँगै फेससिल्ड ल्याउने होला भन्ने आश जाग्यो । बाहिर अरुले दिएको र सिटमा राखिदिएको लिनुभन्दा त परिचारिकाले मुस्कानसहित दिएको फेससिल्ड लगाउनु नै गज्जब नि ! मख्ख पर्दै उनको बाटो हेरेर बसेँ । तर उनले मुखमा मास्क लगाए, नलगाएको मात्र हेरिन् । मास्क चिउँडोमुनीसम्म सार्नेलाई मुखमा लगाउनुहोस् भनिन् । फेससिल्ड र चकलेट दिने त कुरै गरिनन् ।
जहाज चल्न थालेपछि पनि उनले दिने छाँटकाँट नदेखाएपछि के नभए, नभएजस्तो छटपटी भयो । कसलाई के भनेर सोध्ने भइरहेको थियो, त्यहीबेला नजिकै आएकी परिचारिकालाई साथी विशालले सोधे - अहिले फेससिल्ड दिन छोड्नुभएको हो र ?
परिचारिकाले भनिन् - हो, कम्पनीले नै बन्द गरिदियो । खर्च धेरै भयो भनेर ।
‘कति पैसा तिर्नुपर्छ त त्यो लगाउनलाई ?’ विशालले ठट्टा गरेर सोधे ।
‘खै त्यो त थाहा भएन’ भन्दै उनी पछिल्तिर लागिन् ।
‘तपाईंहरुले त लगाउनुभएको छ त ?’ विशालले अझै छोडेनन् ।
उनी सुन्दै नसुनी आफूले लगाएको फेससिल्ड मिलाउँदै गइन् ।
‘अस्ति त बुद्ध एअरमै उड्दा फेससिल्ड दिएका थिए त’ बेलाबेला जहाज चढिरहेका विशालले भने ।
थुक्क म चाहिँ कस्तो बेलामा जहाज चढ्न आएछु भनेर खल्लो भयो । जहाजमा चढेर फेससिल्ड लगाउने धोको पूरा नहुने भयो भनेर फेस नै अँध्यारो भयो । तर उतिखेरै चकलेटको सम्झनाले फेससिल्डले बिग्रिएको फेस फ्रेस भयो ।
पहिले पहिले त जहाजको सिटमा बस्नेबित्तिकै कानमा कोच्ने कपास र मुखमा कोच्ने चकलेट लिएर परिचारिका मस्कँदै आउँथिन् । तर अहिले त जहाज उडेर माथि पुग्दा पनि परिचारिका आउँदिनन् । आउँदै होलिन् भनेर अघिपछि पल्याकपुलुक हेरेको उनी त पछिल्तिर आफ्नै ठाउँमा उभिरहेकी छिन्।
हैन चकलेट पनि दिँदैनन् कि के हो भनेको, छेउमै रहेका विशालले भने, ‘चकलेट त कोरोना आउनेबित्तिकै दिन छाडेका ।’
ए..त्यसो भए चकलेट खाने आश पनि पूरा नहुने रैछ ।
पहिले पहिले त जहाज चढ्दा चकलेट, पानी र बदाम दिन्थे । जहाजमा बाँडेको चकलेट र बदाम भनेर साथीभाइ र घरमा देखाउनसमेत पुग्ने गरी खल्तीमा हालिन्थ्यो । जहाज चढ्न पाएकोभन्दा बढ्दा खुशी मिल्थ्यो । तर कोरोनाको बहानामा जहाज कम्पनीले चकलेट बाँड्न समेत छाडेछन् ।
फेससिल्ड मात्रै दिएको भए पनि चकलेट र बदामको न्यास्रो मेटिन्थ्यो । तर यो पनि बन्द गरे । हुन त अहिले बाटोमा हिँड्ने र बसमा चढ्नेले समेत मास्क लगाउन छाडे । दलका नारा जुलुसले सडकको कोरोना त भगाइसकेको थियो । अब त जहाजको उडानले आकाशको कोरोना पनि हराएको हो कि ? हो भनौं भने पाइलट र परिचारिकाले अझै फेससिल्ड र जिउ नै ढाक्ने लुगा लगाउन छाडेका छैनन् । जे होस्, फेससिल्ड लगाउन नपाए पनि चकलेट र बदाम खान त पाउनुपर्यो नि । सरकार फेर्न र जोगाउन मरिहत्ते गर्दै जहाज नै चढेर ठाउँठाउँमा कुद्ने नेताज्यूहरुले यसमा ध्यान दिन्छन् कि ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।