पर्वत : आइसाेलेशन छ तर स्राेत–साधन छैन, सङ्क्रमित हाेम क्वरेण्टीनमा बस्छन्

 बैशाख १९, २०७८ आइतबार १८:३३:८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतका सात वटै पालिकामा आइसोलेशन व्यवस्थापन भए पनि स्रोत, साधनको अभावमा सञ्चालनमा आउन सकेका छैनन् । आइसोलेशनमा आवश्यक उपकरणसहित स्रोत, साधनको अभाव भएपछि सङ्क्रमितहरू होम क्वरेण्टीनमा बस्न बाध्य छन् । 

नयाँ 'भेरिएन्ट' सहितको दोस्राे कोभिडको लहरबाट पर्वतमा ४० जना सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गइसकेकाे छ । सङ्क्रमितमध्ये दुई जना जिल्लाबाहिर उपचाररत छन् भने पैञ्यु गाउँपालिकामा सञ्चालित आइसोलेशनमा दुई र कुश्मा नगरपालिकामा रहेकाे जिल्ला अस्पतालमा सञ्चालित आइसोलेशनमा एक जना उपचाररत छन् । 

गएकाे वर्ष पर्वतका सबै पालिकाले सङ्क्रमितलाई सामूहिक रूपमा राखेर उपचार गर्ने गरी एक सय दुई शय्या क्षमताको कोरोना अस्पताल सञ्चालनमा ल्याएका थिए तर अहिले त्याे अस्पताल सञ्चालनमा छैन । सङ्क्रमितको उपचारका लागि कुश्मा नगरपालिकामा रहेकाे पर्वत अस्पतालमा १० शय्या क्षमताको आइसोलेशन कक्ष स्थापना गरिएको छ भने अन्य ६ पालिकामा पाँच/पाँच शय्या क्षमताको आइसोलेशन कक्ष सञ्चालनमा रहेको छ ।

अहिले सबै पालिकामा सङ्क्रमित देखिए पनि पैञ्यु र कुश्मा नगरपालिकाबाहेकका अन्य पालिकाले उचित स्रोत, साधनको अभावमा सङ्क्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्न नसकेका हुन् । ‘डाक्टर भएर मात्रै नहुने रहेछ’, विहादी गाउँपाालिकाका अध्यक्ष कमल भूसालले भन्नुभयो, ‘स्रोत, साधन नभएपछि सङ्क्रमितलाई टाढैबाट औषधि फाल्नु भन्दा घरमा नै सुरक्षित भएर बस्न अनुरोध गरेका छौँ ।’ 

जिल्ला कोभिड व्यवस्थापन समितिले पनि गएकाे वर्ष सञ्चालन गरिएको क्वरेण्टीनलाई व्यवस्थित गर्न समस्या भएको भन्दै सङ्क्रमितलाई घरमा नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सुरक्षित बस्न अनुरोध गरेको छ । समितिका संयोजक एवम् पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सङ्क्रमितहरूकाे मनोबल नगिराइकन सुरक्षित ढङ्गले घरमा नै बस्ने वातावरण मिलाउन र स्वास्थ्यमा जटिल समस्या देखिएमा तत्काल अस्पतालमा पुर्‍याउने व्यवस्था गर्न पालिकालाई अनुरोध गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया