यूएई : एउटै कम्पनीमा कार्यरत ८० जना  नेपाली समस्यामा, एनआरएनएद्वारा खाद्यान्न सहयोग

 जेठ १०, २०७८ सोमबार ११:५६:५३ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईको आबुधाबीमा एउटै कम्पनीमा कार्यरत ८० जना नेपाली समस्यामा परेका छन् । १७ महिना पहिले यूएईको एड्भान्स रिक्रुमेन्ट सर्भिसेज कम्पनीमा सरसफाइको कामका लागि आएका उनीहरुले ३ देखि ५ महिना यता काम गरे बापतको पैसा नपाएपछि समस्यामा परेका हुन् ।

१ लाख १५ हजार देखि डेढ लाख नेपाली रुपैयाँ बुझाएर अञ्जली म्यानपावर मार्फत यहाँ आएका उनीहरुले अहिले म्यानपावरले पनि वास्ता नगरेको बताएका  छन् । समस्यामा परेका मध्येबाट पैसा जम्मा गरेर ४ जनाले आबुधाबीमा रहेको नेपाली दूतावास पुगेर समस्यामा परेको बारे निवेदन दिएका थिए । दूतावासले कम्पनीसँग सम्पर्क प्रयास गरेको तर सम्पर्क नभए पछि प्रक्रियागत रुपमा समस्या समाधान गर्ने भन्दै खाद्यान्नको व्यवस्था गरिदिन गैर आवासीय नेपाली संघ एनआरएनएलाई अनुरोध गरेको थियो ।

एनआरएनएका कार्यवाहक अध्यक्ष निरञ्जन सिलवाल सहित आबुधाबी प्रतिनिधिहरु फडिन्द्र ढकाल, सुमन पराजुली लगायतले ती नेपालीहरु बस्ने स्थान माफरक मजदुर क्याम्प गएर खाद्य सामाग्री हस्तान्तरण गरेको हो । यूएई दिराम्स ३८ सय ५० (झण्डै १ लाख ३० हजार रुपैयाँ)को खाद्य सामाग्री खरिद गरी सहयोग गरेको एनआरएनए यूएईले जनाएको छ ।

आफूहरुले आन्तरिक रुपमा आर्थिक सहयोग जुटाएर ८० जनालाई प्रतिव्यक्ति ५ किलो चामल सहित, दाल, तेल, प्याज, मसलालगायतका खाद्यान्न वितरण गरेको एनआरएनएले जनाएकाे छ ।

'कम्पनीले हेर्न छाड्याे'

एड्भान्स रिक्रुमेन्ट सर्भिसेजले आफूहरुलाई  न्यूनतम सुविधा पनि दिन छाेडेकाे त्यहाँ कार्यरत नेपाली श्रमिक बताउँछन् । एनआरएन यूएईले खाध्यसामाग्री सहयोग गरेको तर पकाएर खान इन्धनको समेत समस्या भएको एक जना पीडीतले बताउनु भयो । कम्पनीले गएको ५ महिना यता तलब दिन छोडेकाे र दुई महिना यता काम पनि नदिएको पीडितहरुकाे गुनासाे छ ।

समस्यामा पर्नेहरुमा अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी, ताप्लेजुङका युवाहरु छन् । आफूहरु समस्यामा परेको बारे परिवारलाई खबर नगरेकोले नाम सार्वजनिक नगरिदिन उनीहरुको अनुरोध छ ।

आफूहरु समस्यामा परेको बारे म्यानपावरले उल्टै थर्काउने, जे गर्न सक्छौ गर भन्ने गरेको पीडितहरुकाे गुनासाे छ । दूतावासले पनि नेपालले अन्तर्राष्ट्रिय उडान खुला गरेपछि प्रक्रियागत रुपमा  घरफिर्तीका लागि सहजीकरण गर्ने जनाएको छ ।

यसैबीच गैर आवासीय नेपाली संघ एनआरएनएले यूएईमा समस्यामा परेका नेपाली श्रमिकको सहयोगका लागि भन्दै यहाँका सातै वटा राज्यमा स्वयंसेवक परिचालन गरेको छ । एनआरएनएले आबुधाबीमा फडिन्द्र ढकाल, अलएैनमा राजन अधिकारी, दुबईमा मदन अधिकारी, सारजाहमा विरेन्द्र नकर्मी, अजमानमा राजन खतिवडा, रसअलखेमामा टीएन शर्मा, र फुजेरामा सुजन सापकोटालाई स्वयंसेवककाे रुपमा खटाइएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Bibek rai

    May 24, 2021, 12:57 p.m.

    नेपाल सरकारले के गर्न लागेको हो खोइ कुन्नि ?? हामीहरु धेरै यु ए इ मा धेरै कस्टकर समय बिताउनु परेको छ ..कहिले खुल्छ फ्लाइट भन्दै दिन गण्ड गन्दै अब त भिसाको मिति सकिएर ओभर स्टे भैसक्यो / कसले बुझिदिन्छ हाम्रो पीडा ?? अब दिनको ५० दिराम अर्थात नेपाली १५५० रुपियाँ दिनहुँ तिरेर बस्नु परेको छ / त्यसैले कृपया छिटो भन्दा छिटो फ्लाइट चालु गर्नुपर्यो /के संधै लक डाउन गरेर कोविद १९ लाई जित्न सकिन्छ ? अरु उपाय खोजौं ..अरु देशवाट केही सिकौं हामीपनि .....

  •  0 Reply

तपाईको प्रतिक्रिया