आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालन गर्न नसक्दा बर्सेनि लाखाैँ रकम 'फ्रिज'

 असार १३, २०७८ आइतबार १४:८:१६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आकस्मिक प्रसूति शल्यक्रिया सञ्चालन गर्न नसक्दा बर्सेनि केन्द्र सञ्चालनका लागि आउने बजेट राज्यकोषमा फिर्ता (फ्रिज) हुँदै आएको छ । 

रामेछापमा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालन हुन नसक्दा गर्भवती महिला उपचारका लागि छिमेकी जिल्लाका अस्पताल र राजधानीसम्म धाउन बाध्य छन् । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति भर्ना गर्न नसक्दा यो केन्द्र सञ्चालनमा आउन नसकेको हो ।  

आकस्मिक प्रसूति शल्यक्रिया बन्द हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार लिन आएका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले काठमाण्डौ रिफर गर्दै आएका छन् । स्वास्थ्यकर्मीले रिफर गरेका कतिपय  गम्भीर प्रकृतिका गर्भवती महिलाले एम्बुलेन्समा जाँदै गर्दा बीच बाटैमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  

‘प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति शल्यक्रियाका लागि आवश्यक पर्ने सबै प्रविधि छन् । त्यस्तै शल्यक्रियाका लागि छुट्टै भवनको समेत व्यवस्थापन गरेका छौँ । तर जनशक्ति नहुँदा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ’, उहाँले भन्नुभयो । 

यस विषयमा पटक–पटक मन्थली नगरपालिकामा अनुरोध गर्दा समेत नगरपालिकाले बेवास्ता गरेका कारण गर्भवती महिलाले सास्ती खेप्नु परेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।  

मन्थली नगरपालिकाले गर्भवती महिलाका लागि आकस्मिक प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र २०७२ सालदेखि सञ्चालनमा ल्याएको थियो तर निरन्तरता पाउन सकेन । पालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर सञ्चालन गर्नुको साटो सङ्घीय सरकारबाट आएको बजेटसमेत राज्यकोषमा नै फिर्ता हुँदै आएको छ । 

पालिकाले गएको आर्थिक वर्ष २०७५÷०७६ मा १० लाख ६७ हजार सात सय ५० रुपैयाँ र गएको आर्थिक वर्ष २०७६/०७७ मा गरी दुई आर्थिक वर्षमा २१ लाख २० हजार सात सय ५० रुपैयाँ रकम खर्च गर्न नसकेर राज्यकोषमा फिर्ता गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले जानकारी दिनुभयो । 

प्रसूति शल्यक्रिया सेवा बन्द भएपछि चालु आर्थिक वर्ष २०७७÷७८ मा गम्भीर प्रकृतिका ६७ गर्भवती महिलालाई काठमाण्डौका अस्पतालमा रिफर गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया