आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

 साउन ६, २०७८ बुधबार ७:०:१० | डा. विद्यानाथ कोइराला
unn.prixa.net

फाइल तस्बिर

कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म  बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक  किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा  ज्ञानी  हुन्छन् भन्ने होइन ।  

बालबालिकालाई धेरै जानकारी दिनु, सिकाउनु राम्रो हो । तर घोकाउनु त्यति राम्रो होइन । सरकारले तोकेको न्यूनतम पुस्तक बालबालिकाको साथमा राख्न दिने र पढाउने गर्नुपर्छ ।  बाँकी किताब बालबालिकाले आफ्नो इच्छा अनुसार पढ्न सक्ने गरी पुस्तकालयमा राखिदिनुपर्छ ।

बालबालिकालाई जबरजस्ती  यो पुस्तक पढ्नैपर्छ भनेर लाद्नु हुँदैन । पढ्नै पर्ने भनेर सरकारले तोकेको पुस्तक  रचनात्मक तरिकाले पढाउने र सिकाउने गर्नुपर्छ ।  बाँकी बालबालिकाको रुचि र चाहाना अनुसार पढ्न दिनुपर्छ ।  त्यसका लागि पुस्तकालयमा धेरै थरीका पुस्तकहरु राखिदिने गर्नुपर्छ । यसो गरेमा  बालबालिकाले रोजेर पुस्तक पढ्न पाउँछन् ।  जबरजस्ती  किताब किनाएर घोकाउनु एकदमै गलत हो । 

बालबालिकाको सिकाइ प्रभावकारी बनाउनका लागि नेतृत्वसँग खासै चासो देखिँदैन । प्राय: सरकारी विद्यालयहरुमा बालबालिकाहरुलाई धेरै पुस्तक किनाएको भेटिँदैन । तर निजी विद्यालयमा बालबालिकालाई धेरै पुस्तक भिराउने गरेको भेटिन्छ । फेरि निजी विद्यालयका अधिकांश सञ्चालकहरु  नेतृत्व गर्नेहरु नै छन् । देश चलाउने र विद्यालय चलाउने एउटै मान्छे भएकाले कसले के गर्यो, के सही–के गलत भन्नेमा त्यति चासो नभएको हुन सक्छ ।  सरकारले तोकेको भन्दा धेरै किताब बालबालिकालाई पढाउनु विद्यालयहरुको  बदमासी हो । 

बालबालिकालाई सबै विषय घोकाउनु पर्छ भन्ने होइन । जानकारी गराउने हो । निजी विद्यालयहरुले बालबालिकालाई जबरजस्ती घोकाउने गरेको पाइन्छ । निजी विद्यालयहरुकाे बदमासीका बारेमा पञ्चायत कालदेखि नै कुरा उठ्दै आएको हो । त्यतिबेला पनि सरकारले तोकेअनुसारको पाठ्यपुस्तक पढाउनका लागि आग्रह गरिएको थियो । तर कतिपय निजी विद्यालयहरुले त्यो कुरा मानेनन् । पञ्चायत कालमा एउटै किताब मात्र पढाउने भनेको थियो । तर एउटा मात्रै पुस्तक पढाएर हुँदैन भनेर त्यसको विरोधमा होहल्ला सुरु भयो । विरोधहरु  पनि भए । त्यसपछि एउटै पुस्तकले मात्रै हुँदैन थरीथरीका पुस्तकहरु पढाइनुपर्छ भन्ने भयो । थरीथरीको किताब हुनु, बेठिक भने होइन । किनभने मेची महाकालीको एउटै परिवेश छैन । त्यसकारण बहु पाठ्यपुस्तकको चिन्तन सरकारले गरेको हो । 

शिक्षा आयोगको प्रतिवेदन र शिक्षा नीतिमा पनि  बहु पाठ्यपुस्तकको कुरा उल्लेख गरिएको छ । तर त्यसो भन्दैमा कमिसनकै  लागि चाहिने भन्दा धेरै पुस्तक बालबालिकालाई बोकाउनु एकदमै गलत हो । कतिपय विद्यालयहरुले पाँच, छ वर्षका बालबालिकालाई पनि एघार, बाह्र वटा पुस्तक पढाएको भेटिन्छ । पाँच, छ  वर्षका बालबालिकालाई त्यति धेरै किताब बोकाउनु भनेको एकदमै नराम्रो काम हो । उनीहरुलाई नभई नहुने दुई, तीन वा चार वटासम्म किताब दिन सकिन्छ । तर बाँकी किताबहरु बालबालिकाहरुले आफ्नो परिवेश अनुसार पढ्न पाउने बन्दोबस्त गरिदिनुपर्छ । उनीहरुले पढ्न रहर लागे पढ्छन् । नलागे पढ्दैनन्  । तर अनिवार्य गराइनु हुँदैन । 
एउटै कुराबाट बहु विषयमा जानकारी दिने कला हुने हो भने, चाहिने जति मात्रामा  सिकाउन सकिन्छ । 

उदाहरणको लागि बालबालिकाले खाना खाँदा थालमा दाल, भात र तरकारी हुन्छ । बालबालिकाले सन्तुलित खानाको बारेमा त्यहीँ पढिरहेका हुन्छन् । जानकारी लिइरहेका हुन्छन् । त्यसैबाट  बालबालिकालाई सन्तुलित खानाको बारेमा जानकारी गराउन सकिन्छ ।  सन्तुलित खानाकोबारे पढाउनका लागि छुट्टै किताब किनिरहनुपर्ने आवश्यकता नै हुँदैन । बालबालिकालाई थप जानकारी चाहिएमा मात्र अरु किताब पढ्न लगाउन सकिन्छ ।   थप जान्न नचाहने बालबालिकालाई सामान्य जानकारीले पनि काम चल्छ । यो भनेको अन्तर्राष्ट्रिय प्रयास र व्यवहार दुवै हो । 

(शिक्षाविद् कोइरालासँग गरिएको कुराकानीमा आधारित )


 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विद्यानाथ कोइराला

डा. काेइराला शिक्षाविद हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया