मध्यपहाडी लोकमार्गको जोखिम हटाउन नगरपालिकाले गर्‍याे प्रशासन कार्यालयलाई अनुरोध

 साउन १३, २०७८ बुधबार २०:२३:३८ | सन्तोष थापा
unn.prixa.net

पर्वत – निरन्तरकाे वर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि कुश्मा नगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिसमक्ष जोखिम हटाएर सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । 

कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले जिल्ला सुरक्षा समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीसमक्ष जोखिम हटाउनका लागि माग गर्नुभएको हो । 

यसअघि मध्यपहाडी लोकमार्गको कास्की नयाँ पुलको सिमानादेखि बाग्लुङ–पर्वतको सिमाना मालढुंगासम्म झन्डै १५ दिन सडक बन्द भएको थियो । झन्डै एक सय मिटर माथिबाट ढुङ्गा खसेर सडक बन्द भएपछि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी विष्फोटक पदार्थ प्रयोग गरी पाँच दिनपछि मात्रै सडकको अवरोध हटाएको थियो । कुश्मा नगरपालिका ४ मा रहेको मध्यपहाडी लोकमार्गको अर्मादी खण्ड सडक बन्द भएको थियो । यो सडक खण्डमा अझै पनि माथिबाट ठूला ढुङ्गा खस्ने अवस्थामा रहेको र पानी परिरहेका बेला सडकमा यात्रा गर्नसमेत जोखिम भएकाले विष्फोटक पदार्थ नै प्रयोग गरेर अवरोध हटाउन अनुरोध गरिएको कुश्मा नगरपालिकाका मेयर जोशीले बताउनुभयो । 

त्यस्तै कुश्मा नगरपालिका ८ चुवा भिरमा रहेको जोखिमयुक्त ढुङ्गा हटाउनका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको जोशीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जोखिमयुक्त अवस्थामा रहेका सडकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले स्थलगत अवलोकन गर्ने र आवश्यक निर्णय गर्ने बताउनुभयो । 

मनसुनजन्य विपद्का कारण पर्वतमा यस वर्ष एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका ८ मा रहेको सुन्दरे खोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्गमा कार्यरत सवारी चालक इन्द्र चौधरीको ज्यान गएको हो भने मध्यपहाडी लोकमार्गको निर्माण जिम्मा लिएको लामा कन्ट्रक्शनका साइट इन्चार्ज राजाराम आचार्य बेपत्ता हुनुभएको हो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया