बाहुनी गाउँमा उत्पादन भएकाे प्याज खच्चडलाई बाेकाएर सदरमुकाम मार्तडी पुर्‍याइयाे

 साउन २५, २०७८ सोमबार १८:३७:५७ | निमेन्द्र शाही
unn.prixa.net

बाहुनीमा फलेको प्याज खच्चडलाई बाेकाएर सदरमुकाम ल्याइँदै । फोटो : निमेन्द्र शाही

बाजुरा – बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर १ बाहुनीमा उत्पादन भएको प्याज खच्चडलाई बोकाएर सदरमुकाम मार्तडी पुर्‍याइएकाे छ । पहिरोले सडक बन्द भएकाले प्याज बिक्रीका लागि खच्चडलाई बोकाएर मार्तडी बजारसम्म पुर्‍याइएकाे कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो ।

बाहुनीमा पहिलो पटक किसानहरूले प्याज रोपेका हुन् । १२ मेट्रिक टनभन्दा धेरै उत्पादन भएको प्याज कुहिन थालेपछि कृषि ज्ञान केन्द्र र स्वामी कार्तिक खापर गाउँपालिकाले ढुवानी अनुदान दिएर प्याज बजारसम्म पुर्याएका हुन् । कृषि ज्ञान केन्द्र बाजुराले २० र स्वामी कार्तिक खापर गाउँपालिकाले १५ गरी एक केजीमा ३५ रुपैयाँ ढुवानी खर्च दिएका हुन् ।

बाहुनीको १२ हेक्टर क्षेत्रफलमा लगाइएको प्याज १२ मेट्रिक टन उत्पादन भएको थियो । गएको शनिवारदेखि प्याजको ढुवानी सुरु भएको हो । पहिलो पटक १२ क्विन्टल प्याज सदरमुकाम मार्तडी पुर्‍याइएकाे छ । किसानले मार्तडी पुर्‍याएर प्रतिकिलो ५० रुपैयाँका दरले प्याज बेच्न थालेका छन् । पहिरोले मार्तडी–कोल्टी सडक र कर्णाली करिडोर सडक बन्द भएपछि ग्रामीण क्षेत्रमा किसानले उत्पादन गरेका तरकारीलगायतका वस्तु खेर जान थालेका छन् । 

मार्तडी–कोल्टी सडकको धेरै ठाउँमा सामान्य पहिरो र त्यहाँ काम गरिरहेको ठेकेदार कम्पनीले सामान्य बाटो बनाइदिए पनि सामान ढुवानीमा सहज हुने स्थानीयवासीले बताएका छन् ।

अबको एक हप्तापछि स्वामी कार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकामा स्याउ टिप्ने बेला हुन्छ । सडक बन्द रहेकाले स्याउ ढुवानीमा पनि समस्या हुने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो ।  त्यो समयसम्म सडक बनाउने जिम्मा पाएको कम्पनीले मार्तडी–कोल्टी सडक बनाइदिने हो भने खच्चरमै भए पनि स्याउ ढुवानीमा सहज हुने ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतीको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा प्याज बजारसम्म पुगेपछि किसानले खुसी व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया