तालिम/अध्ययनका लागि इजरायल गएका १० जना नेपाली सम्पर्क विहीन, कारबाही गर्ने दूतावासको चेतावनी

 भदौ १७, २०७८ बिहिबार ११:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्क विहीन भएका छन् ।

नेपालको साना किसान विकास बैंकबाट छनौट भई ११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका १० जना हराएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सेडोट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरबाट ४ जना, द एक्सट्रनल स्टडिज इन्टिच्युटबाट २ जना, एक कलेजबाट २ जना र अराभ इन्टरनेशनल सेन्टर फर एग्रिकलचर ट्रेनिङ सेन्टरबाट २ जना गरी जम्मा १० जना सम्पर्क  विहीन भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

तालिम तथा अध्ययनका लागि आएका विद्यार्थीहरू यसरी सम्पर्क विहीन भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासले देशको प्रतिष्ठालाई समेत ख्याल नगरी व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानुनी हिसाबले बस्ने नगर्न आग्रह गरेको छ । 

‘दुई चार जनाको बदमासीले गर्दा वार्षिक पाँच सय जनाको ढोका बन्द गरिनु अपराध हो, दूतावासले यो सङ्ख्यालाई बढाएर वार्षिक एक हजार पु¥याउने प्रयास भइरहेको समयमा यस्ता गतिविधिको कारणले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ,’ दूतावासले भनेको छ ।

विद्यार्थी बाहेक रोजगारीको सिलसिलामा इजरायल पुगेकाहरू मध्ये केही सम्पर्क विहीन भएको भन्दै दूतावासले सचेत हुन भनेको छ । सम्पर्क विहीन भएकाहरूको खोजी भइरहेको पनि दूतावासले जनाएको छ । सम्पर्क विहीन भएका केहीको जानकारी पनि दूतावासले पत्ता लगाइसकेको छ ।

यसरी सम्पर्क विहीन भएर काम गरेकाहरूलाई प्रहरीको सहयोगमा पक्राउ गरी जतिसक्दो छिटो नेपाल पठाउन समन्वय भइरहेको दूतावासले जनाएको छ । 

सम्पर्क विहीन भएर काम गरिरहेकाहरुलाई दूतावासले यथा सक्दो छिटो सम्पर्कमा आउन आग्रह गरेको छ । सम्पर्कमा नआउनेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया