चोभारमा तयार भयो सुक्खा बन्दरगाह

 भदौ १८, २०७८ शुक्रबार १८:५०:४७ | रासस
unn.prixa.net

काठमाण्डौ – चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्टको कारखाना रहेको ठाउँमा सरकारकाे एक अर्ब ६० करोड रुपैयाँ लगानीमा पाँच सय कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

पूर्वाधार निर्माण सकिएको यस बन्दरगाह भन्सार र क्वरेण्टीन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दरगाहमा भन्सार, क्वरेण्टीनका लागि तीन वटा भवन निर्माण गरिएको छ ।

यस्तै, सामग्री भित्र्याउन र पठाउन तीन वटा गोदाम तयार भएका छन् । यस बन्दरगाहमा एक्जिम (आयात–निर्यात) क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ । जसमा पहिलोलाई आयात–निर्यातका लागि प्रयोग गरिने जनाइएको छ । यस क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वरेण्टीन लगायतका काम हुनेछ ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्याइएको छ । यस क्षेत्रमा व्यवसायीले ल्याएका सामान ‘अनलोड–अफलोड’ गर्ने, गोदाम घरमा भण्डारण नगरि लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्याइएको हो ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार बन्दरगाह प्रवेशका लागि तीन द्वार निर्माण गरिएको छ । जसमा एउटा मुख्य द्वारबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिन्छन् । तर, बीचमा छुट्याइएको एक गेटबाट भने जुन कुनै आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

विसं २०७५ को साउनमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यस आयोजनामा १४ महिना समयसीमा थप गरिएको थियो । चोभारमा हिमाल सिमेन्टले ओगटेको एक हजार ४१ रोपनी जग्गामध्ये दुई सय २० रोपनीमा सुक्खा बन्दरगाह र ४१ रोपनीमा कर्मचारीका लागि आवास गरी कुल दुई सय ६१ रोपनीमा सान्छी–आशिष जेभीले बन्दरगाह निर्माणको काम गरिरहेको छ ।

निर्माण सम्झौता भएको १८ महिनामा सक्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ २०७५ मा शिलान्यास गर्नुभएको यस आयोजना कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन र स्थानीयवासीले गरेको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।  

सञ्चालनको विषयमा अध्ययन गर्न समिति

सञ्चालन योग्य भएको बन्दरगाहलाई कसरी सञ्चालन गर्ने भन्नेबारे समितिले आवश्यक तयारीसमेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका बन्दरगाह सञ्चालनको ढाँचा तयार गर्न सहसचिवको संयोजकत्वमा समिति गठन गरको हो ।

समितिमा भन्सार विभाग र इन्टरमोडल यातायात विकास समितिकै प्रतिनिधि सदस्य रहेका छन् । बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाण्डाै सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारी, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइलगायत कारणले केही ढिला भएको हो ।

काठमाण्डाै सुक्खा बन्दरगाह नेपालको भन्सारमा समेत नितान्त नौलो प्रयोग भएको समितिको भनाइ छ । विद्यमान व्यवस्थाअनुसार सीमा नाकामा गरिने भन्सार जाँचपास अब यही बन्दरगाहमा हुनेछ ।

बन्दरगाह सञ्चालनमा आएपछि काठमाण्डाै तथा आसपासमा भित्रिने मालवाहक सवारी साधन वीरगञ्जमा लामो प्रक्रिया गरेर रोकिनुपर्ने छैन, सिधै काठमाण्डाै आउन सक्नेछन् । सीमा भन्सारले सिल लगाएर बन्दरगाहमा पठाउनेछ । त्याे सिल काठमाण्डाै बन्दरगाहमा खोलिनेछ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया