यूएईका मुस्ताफाले सुदूरपश्चिम र इंग्ल्याण्डका म्याट क्रिटले पोखर...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट खेल एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्यान्डबीच र २ अक्टोबरमा बङ्गलादेश र पपुवा न्युगिनीबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन । यही कारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो ।
त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेल खेल्ने एकमात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ । तर अन्तर्राष्ट्रियस्तरको अरू खेल मैदान हुन नसक्दा खेलाडीहरूले चाहे जति अभ्यास गर्न सकेका छैनन् ।
एउटामात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालाका कारण विदेशमा गएर खेल्न पनि सकस परिरहेको खेलाडीहरूले नै बेला–बेला बताउने गरेका छन् । नेपाली खेलाडीहरूलाई सिकाउन आएका प्रशिक्षकहरू पनि नेपालले अन्तर्राष्ट्रियस्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन् । तर पनि सरकार यसबारेमा लाचार देखिन्छ ।
नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एसाेसिएट सदस्यता पाएको थियो । अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरीयतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ । नेपालमा त्रिभुवन क्रिकेट मैदानबाहेकका अन्य तीन वटा मैदान भए खेल खेलाउन, खेलाडीहरूलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने त्रिवि क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताउनुभयो ।
उहाँले एउटै क्रिकेट पिचमा खेल्दा एक, दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रियस्तरका क्रिकेट मैदान बनाउनुपर्नेमा जोड दिनुभयो । एउटा खेल खेलिसकेपछि एउटा मैदानमा एक महिना खेल खेलाउन उचित नहुने बताउँदै उहाँले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताउनुभयो । उहाँले एकपछि अर्को लगातार खेल खेलाइरहँदा त्रिवि क्रिकेट मैदानलाई खेलको भार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको अन्तर्राष्ट्रिय ग्राउन्ड यही एउटामात्रै भयो, यसको विकल्पमा अरू ग्राउन्ड पनि छैन, यस्तै तीन वटा जति ग्राउन्ड भइदिएको भए प्रतियोगिता गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो । ईपीएलको लागि तयारी लगभग सकिएको छ, १५/२० दिन अघिदेखि तयारी सुरु भयो, टी–२० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ, एउटै विकेट (पिच) मा सबै खेल खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ । १० दिनको खेल भए तीन वटा विकेट, पाँच दिनको भए दुई वटाले पनि धान्न सकिन्छ, एउटामात्रै पिच भए सुरुका केही खेल राम्रो हुन्छ, त्यसपछि बल बाउन्स हुने लगायतका समस्या देखा पर्छ, गर्मीमा जाडोमा भन्दा राम्रो हुन्छ, जाडोमा मैदान धेरै चिसो हुँदा घाँसको मुना मर्छन्, तर गर्मीमा पिच चाँडो सुक्छ, एउटा खेल खेलिसकेपछि पिचमा एक महिनासम्म खेल्नका लागि सहज र त्यति उपयुक्त मानिँदैन, सकेसम्म एक खेल खेलेपछि एक महिनासम्म मैदानलाई आराम गर्न दिनुपर्छ, तर नेपालमा एउटामात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, जस कारण मैदानले आराम नै पाउँदैन ।’
त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक खेलमा पालैपालो खेलाइनेछ, ईपीएलको लागि मैदान तयार भइसकेको छ । पिच २२ गजको हुने गर्छ, यसको दुवैतर्फ स्टम्प हुन्छन्, यसमा घाँस कम हुन्छ भने पिचले खेलमा टिमको रणनीतिलाई प्रभावित बनाउँछ ।
नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो । त्यसका लागि अन्तर्राष्ट्रियस्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जी स्पोर्ट्स कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो । सम्झौताअनुसार सानो फुटबल मैदानलाई जी स्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।