पाँच महिना पछि खुले म्याग्दीका ग्रामीण सडक

 असोज २५, २०७८ सोमबार १०:३१:४१ | रासस
unn.prixa.net

म्याग्दी - बाढी र पहिरोका कारण जेठको दोस्रो हप्तादेखि बन्द भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् ।

वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले  यहाँका सबै पालिकाका ग्रामीण सडक बन्द भएका थिए । त्यसयता पटक पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन्।

यहाँका पालिकाले सडक खुलाउने प्रयास गरे पनि लगातार भइरहेको वर्षाले पटक पटक बन्द हुँदै आएका सडक वर्षा रोकिएपछि  दशैँको मुखैमा बल्ल खुल्न थालेका हुन् । पालिकाले डोजरकाे प्रयोग गरेर सडक खुलाएको हो ।

वर्षाका कारण बन्द बनेका ग्रामीण सडक दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । नगर पालिकाका सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेको बेनी नगरपालिकाले जनाएको छ ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाले चाडपर्व मान्न गाउँ फर्केका नागरिकलाई सहज बनाउने उद्देश्यले बन्द सडक खुलाउन थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाले पनि पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ ।'केही दिनयता ग्रामीण सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ, दशैँमा घर जान नागरिकलाई कुनै दुःख हुँदैन', रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

बन्द भएका ग्रामीण सडकसँगै बेनी–दरबाङ सडक खण्डमा  पनि कुनै समस्या नभएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उहाँको भनाइ छ । कठिन भूगोल भएका धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाका प्रायः सबै सडक सञ्चालनमा आइसकेका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाभित्रका सडक पनि सञ्चालनमा आउन थालेका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उता बेनी–जोमसोम सडक खण्ड पनि केही दिनयता नियमितरुपमा सञ्चालनमा छ ।

अघिल्लो हप्ता काभ्रेभिर पहिरो गएपछि तीन दिनसम्म सडक बन्द भएको थियो । त्यहाँको सडक मर्मत गरेर यातायात सञ्चालन गरिएसँगै अहिले यस सडक खण्डमा कुनै समस्या नभएको स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

त्यसैगरी बेनी–रत्नेचौर–बाग्लुङ, बाग्लुङ–रत्नेचौर–भकुण्डे, बेनी–मालढुङ्गा, बेनी–लभ्लीहिल–भकुण्डे, बेनी–बगरफाँट–बरङ्जा, बेनी–पुलाचौरलगायतका सडक पनि सञ्चालनमा आएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया