विमानमा बँदेल ठाेक्किएपछि नेपालगञ्ज विमानस्थलभित्रकाे झाडी फाँडियाे

 कात्तिक १७, २०७८ बुधबार १४:५५:२६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ । 

झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन वटा बँदेल ठोकिएका थिए । उड्ने तयारीमा रहेको विमानमा तीन वटा बँदेल ठोकिए पनि चालक दलको कुशलताका कारण दुर्घटना टरेको हो । त्यस विमानभित्र चालक दलकासहित १७ जना यात्रु रहेका थिए । 

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा यसअघि पनि पटक–पटक बँदेललगायतका अन्य जनावरहरू विमानमा ठोकिने गरेका थिए । बँदेललगायत अन्य जनावर लुकेर बस्न सक्ने भएकाले बुट्यान तथा झाडीहरू सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सरसफाइमा एसपी अधिकारीको नेतृत्वमा नेपाल प्रहरीका ३० जना, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्कीको नेतृत्वमा ९० जना र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नवराज शाहीको नेतृत्वमा ४० जना गरि एक सय ६० जना सुरक्षाकर्मीको सहभागिता रहेको थियाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया