रक्सी खाएर हतियारसहित हाे–हल्ला गर्दै हिँड्ने नेपाली सेनाका मेजर पक्राउ

 कात्तिक २२, २०७८ सोमबार १५:१०:४ | भावुक योगी
unn.prixa.net

कैलाली – कैलालीको चिसापानीमा रहेकाे इलाका प्रहरी कार्यालयले हिजाे आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेकाे छ । 

प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेकाे सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेकाे हो । रक्सीकाे नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो । 

उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । होटल सञ्चालक हर्क रावलले मेजर शाही रक्सीले लठ्ठिएर आफ्नो होटलभित्र छिरेको बताउनुभयाे । 

‘उनी रक्सीले लठ्ठ थिए । होटलमा छिर्नेबित्तिकै मसँग अभद्र व्यवहार गरे । हामी चार जना थियौँ’, रावलले भन्नुभयाे, ‘साथीहरूले बाहिर पठाए । त्यसपछि उनी हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेछन् ।’

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेकाे र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् ।  

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहाेल त्रसित बनेको स्थानीयवासीले बताए । उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेकाे थियाे ।  

स्थानीयवासीले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुङ्गामुढा गरेका छन् । उनीहरूले मेजर शाहीलाई कारबाहीको माग गरेका छन् । 

पक्राउ परेका मेजर शाहीले रक्सीकाे नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् । यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् । 

प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएकाे छ । घटनाका बारेमा छानबिन गर्न सुर्खेतमा रहेकाे पृतनालयले एक टोली चिसापानी पठाएको बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया