दुबई एक्स्पोमा ‘नेपाल डे’ : यूएईद्वारा नेपाललाई सम्मान

 माघ २१, २०७८ शुक्रबार १७:८:१६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – दुबईमा जारी एक्स्पो २०२० (विश्व मेला) मा यूएई सरकारले ‘नेपाल डे’ को रूपमा मनाएको छ ।

सहभागी देशहरूका राष्ट्रप्रमुख वा सरकारका विशेष प्रतिनिधिको उपस्थितिमा यूएईले सम्मानका रूपमा गर्दै आएको कार्यक्रममा बिहीबार नेपाल डे मनाएको हो । 

नेपालका तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उपस्थितिमा यूएईले नेपाललाई सम्मान व्यक्त गरेको हो । कार्यक्रममा यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीको सहभागिता रहेको थियो ।

कार्यक्रममा यूएईले राजदूत ढकालसहित कूटनीतिक प्रतिनिधिलाई विभिन्न बाजागाजा र झाँकीसहित परेडको आयोजना गरेर एक्स्पो स्थल परिक्रमा गरायो ।

नेपाललाई सम्मान स्वरूप आयोजना गरिएको नेपाल डे कार्यक्रम नेपाल र यूएईको झण्डोत्ताेलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो । 

कार्यक्रममा नेपालबाट आएका सांस्कृतिक संस्थानका कलाकारहरूले नेपालको सांस्कृतिक विविधता झल्कने सङ्गीत र नृत्य प्रस्तुत गरे । नेपालका तर्फबाट प्रस्तुत सङ्गीत र विभिन्न प्रस्तुतिलाई विश्व मेला अवलोकन गर्न आएका विदेशी पाहुनाले नजर तानेको थियो । 

विश्व मेलामा सहभागी राष्ट्रलाई सम्मान स्वरूप हरेक दिन विभिन्न देशको विशेष दिनको रूपमा मनाउँदै आएको छ । मेलामा १ सय ९२ राष्ट्र सहभागी छन् । 

नेपाल–यूएई सम्बन्ध थप बलियो :  मन्त्री अल हुसेनी

कार्यक्रममा सम्बोधन गर्दै यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीले नेपाल र यूएई सम्बन्ध थप प्रगाढ र बलियो भएको बताउनुभयो ।

यूएईमा अहिले पनि २ लाख ४० हजार नेपाली कार्यरत रहेको तथ्य उल्लेख गर्दै नेपाली नागरिकले प्रत्यक्ष नेपालको सहभागिता जनाएको भन्दै दुई देशबीचको सम्बन्ध नागरिक स्तरमा फैलिएको उहाँको भनाइ थियो ।

मन्त्री हुसेनीले भारत र चीनको बीचमा रहेको नेपाल भौगोलिक रूपमा पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । नेपालको तेस्रो साझेदार देशको रूपमा यूएई उभिएको र आउँदो दिनमा सहयोग र सद्भाव बढाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

सन् १९७० को जापानको ओसाकाबाट सुरु भएको एक्स्पोमा नेपालको उपस्थिति र दुबई एक्स्पो २०२० सम्म आउँदाको उपस्थितिले नेपाल र यूएई बीचको सम्बन्ध थप प्रगाढ र बलियो भएको महसुस गरेको मन्त्री हुसेनीको भनाइ थियो।

यूएईको सहयोग सधैँ उल्लेख्य: राजदूत ढकाल

सम्मान कार्यक्रममा सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईले नेपाललाई गरेको सहयोग सधैँ उल्लेख्य भएको बताउनुभयो । राजदूत ढकालले नेपालले भोगेको भूकम्पजस्तो प्राकृतिक प्रकोप तथा कोरोना महामारीको समयमा यूएईले गरेको सहयोग सधैँ सम्झना योग्य रहेको समेत उल्लेख गर्नुभयो ।

२ लाख ५० हजार  नेपालीलाई रोजगारीसहित नेपालका विभिन्न क्षेत्रमा यूएईले गरेको लगानी र कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन गरेको प्रयासको प्रशंसा समेत गर्नुभयो उहाँले । 

यस्तै,  आउँदा दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रमका लागि नेपालबाट सांस्कृतिक संस्थानका १० जना कलाकारसहित निमित्त कार्यकारी निर्देशक शुयेश खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव देवीप्रसाद थपलियाको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया