लमजुङको राइनासमा भक्ति थापाको ३० फिटे शालिक, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

 माघ २३, २०७८ आइतबार १९:१९:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिका ९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवम् वीर भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा 'भक्ति थापा पार्क' निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार पाँच रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ । शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ । 

आज आइतवार भक्ति थापा पार्ककको उद्घाटन गर्दै मेयर थापाले पार्कको विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) तीन करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै अहिलेसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।

यस्तै डीपीआर अनुसार पार्कसम्म आउने पक्की बाटो, पार्कमा ‘टि शप’, सङ्ग्रहालय, पार्किङ स्थल लगायतका अन्य संरचना भने बनाउन बाँकी रहेको र बिस्तारै ती संरचना निर्माण हुँदै जाने उहाँले बताउनुभयो ।

‘चार वर्षको अवधिमा पार्कको मुख्य संरचना निर्माण भइसकेको छ । बाँकी केही संरचना निर्माण गर्न बाँकी छ । क्रमिक रूपमा ती संरचना निर्माण हुनेछन्’, उहाँले भन्नुभयो । पार्क निर्माणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मेयर थापाले बताउनुभयो ।

भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बेला नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो । उहाँ लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मनुभएको हो । उहाँले लमजुङकाे तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ । 

गोरखासँगको अन्तिम युद्धमा पराजित भइ युद्धबन्दीका रूपमा काठमाण्डाै पुगेको झन्डै एक वर्षपछि उहाँ नेपाली फौजका सरदार भइ नेपाल एकीकरण अभियानमा संलग्न हुनुभएको जानकारहरू बताउँछन् ।
१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उहाँले गर्नुभएको थियो ।

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर ज्यान गएकाे थियो । अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओडाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया