नेपाल एकीकरणको आधारस्तम्भ साततले दरबारको विजोग (फोटोफिचर)

 जेठ २१, २०७५ सोमबार १२:१४:५५ | मदन पौड्याल
unn.prixa.net

नुवाकोटको सदरमुकाम विदुरबाट झण्डै ६ किलोमिटरमाथि डाँडामा छ, साततले दरबार । जहाँ पुग्न विदुरबाट जंगलको बीचैबीच घुमाउरो उकालो बाटो चढ्नुपर्छ । विदुरदेखि पुरानो सदरमुकाम नुवाकोट दरबार पुग्ने सडक फराकिलो बनाउने काम अहिले भैरहेको छ । 

नुवाकोट डाँडामा पुगेपछि देखिने साततले दरबार २०७२ सालको भूकम्पपछि जीर्ण बनेको छ । दरबार  छेउमा भूकम्पले भत्किएको घरमा बस्दै आएकी मञ्जुकुमारी शाही भन्नुहुन्छ ‘सरकारले बरु हाम्रो घर नबनाइदिओस् दुःख सहुँला तर दरबार भने छिट्टै बनाओस् ।’ भूकम्पले क्षति पुर्याएको दरबार देख्दा जो कसैको पनि मन खिन्न हुन्छ, बर्षौदेखि त्यहीँ बस्दै आएका र त्यसको ऐतिहासिक महत्व बुझेकाहरुलाई दुख लाग्नु स्वभाविक नै भयो ।

काठका कलात्मक बुट्टा र गजुरसहितको साततले दरबार तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका हुन् । १९९० सालको भूकम्पले दरबारको गजुर र सिरानको तला (बुर्जा) झारेपछि दरबार पुनर्निर्माण गरी साततले बनाइएको थियो । त्यसपछि दरबारको नाम नै साततले रहन गएको स्थानीयबासिन्दा बताउँछन् ।

अझै काम सुरु भएन

७२ सालको भूकम्पले मन्दिरको कुनै तला वा गजुर त खसाएन तर पश्चिमपट्टिको तेस्रो र चौथो तलाको बाहिरी भागको आधार गाह्रोको इट्टा झारेको छ । टेको लगाएर गाह्रो अड्याइएको छ भने पाँचौ र छैठौँ तला चर्किएको छ । झट्ट हेर्दा सिङगो भए पनि दरबारको भित्र जान सक्ने अवस्था छैन । दरबारमा राजाको शयनकक्ष, रानीको खोपी, भारदार कक्ष, पूजा कक्षलगायत छन् ।

प्यागोडा शैलीमा निर्माण भएको दरबार वरपर स्तूपा शैलीमा विभिन्न मन्दिर पनि छन् । पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट विजय गरेपछि १८१९ सालमा नौतले दरबार निर्माण गराएका थिए । शाहले १८२५ सालमा काठमाडौं विजय प्राप्त गर्नुअघि नौतले दरबारबाट राजकाज चलाएको इतिहासमा उल्लेख छ । त्यो बेला नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ झिकाई मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएको इतिहासमा उल्लेख छ ।

दरबार अघिल्तिर गारद घर छ । विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम अहिले भने विदुरमा छ । नुवाकोट दरबारलाई २०६८ सालको बैशाखमा संग्राहलयका रूपमा विकसित गरिएको हो । भूकम्पले साततले दरबारसहित भैरवी मन्दिर, गारद घरलगायतमा पनि क्षति पुगेको भैरवी मन्दिरका पुजारी हरिमानसिंह डंगोलले बताउनुभयो । अहिले भैरवी मन्दिर पुनर्निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । गएको भदौमा एक टोली दरबारको अवस्था बुझ्न पुगेपनि त्यसपछि के हुँदैछ जानकारी नभएको पनि डंगोलले बताउनुभयो ।

काम सुरु हुन अझै ४ महिना लाग्ने

दरबार क्षेत्रबाट नुवाकोटका धेरै ठाउँ देख्न सकिन्छ तर दरबार र वरपरका मठमन्दिरको भने विजोग छ । साततले दरबार नुवाकोटको मात्रै होइन देशकै पहिचान हो । नेपाल एकीकरणको आधारस्तम्भ मानिने साततले दरबार संरक्षण पुरातत्व विभागको जिम्मेवारी हो । दरबार पुनर्निर्माणको लागि चिनियाँ सरकारले प्रक्रिया सुरु गरेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको भनाई छ ।

पर्यटक घट्दै 

साततले दरबारदेखि भैरवी मन्दिरसम्मका घर पनि सग्ला छैनन् । अहिले केहि घर बन्ने क्रममा छन् । दरबार आसपासको क्षेत्र अहिले उराठलाग्दो देखिन्छ । भूकम्प अगाडि र पछाडि दरबार अवलोकनका लागि आउने पर्यटकको सँख्या घट्दै गएको स्थानीय व्यापारी सुरेन्द्रकुमार शाहीले बताउनुभयो । ‘पहिला व्यापार पनि राम्रो हुन्थ्यो उहाँले भन्नुभयो भुइँचालो गएदेखि उनीहरु पनि आउन छाडे ।’ केही वर्षअघि मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकका लागि खुल्ला गरिएको साततले दरबार भूकम्पले क्षति गरेपछि पर्यटक कम भएका हुन् । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया