लमजुङ : दोर्दी गाउँपालिकाकाे घरघरमा खानेपानी, पानीकै लागि घण्टौँ धाउनुपर्ने बाध्यता हट्याे

 चैत १४, २०७८ सोमबार १३:३६:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङका पुर्नराम गुरुङलाई विगतमा खानेपानीका लागि घण्टौँ पालो कुर्नुपर्ने बाध्यता थियो । गाउँको माझमा सार्वजिनक धारा त थियो । तर गाउँका सबै त्यही धाराकाे पानीमा भर पर्नुपर्दा स्थानीयलाई एक गाग्री पानीका लागि पनि घण्टौँ कुर्नुपर्ने अवस्था थियो । 

उहाँलाई मात्र होइन गाउँका प्राय : सबैलाई विगतमा खानेपानीको निकै समस्या थियो । पानीकै लागि घण्टौको बाटो धाउनुपर्ने, धारा–कुवामा घण्टौँ पालो पर्खनुपर्ने अवस्था थियो । तर अहिले स्थानीय सरकारले विभिन्न सङ्घसंस्थाको समन्वयमा गाउँगाउँमा ‘एक घर, एक धारा निर्माण’ अभियान सक्रियताका साथ अघि बढाएसँगै स्थानीयको घरघरको धारामा पानी पुर्याइएको छ । नागरिकलाई सहज भएको छ । 

‘पहिले पानीको समस्या थियो । अहिले घरघरका धारामा पानी आएको छ । धेरै नै सजिलो भएको छ,’ घरको धारामा पानी भर्दै पुर्नरामले भन्नुभयो, ‘गाउँका सबै घर–घरका धारामा चौबिसै घण्टा निरन्तर पानी आउँदा हामी खुशी छौँ ।’

दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमञ्ज्याङ लामा गाउँका १ सय १५ घरधुरीमा मिटर प्रणालीमार्फत पानी पुर्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको लामागाउँसँगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरधुरीका घर–घरमा मिटर प्रणालीमा खानेपानी पुर्याइएको हो । दुई करोड ६१ लाख उनान्सत्तरी हजार ८ सय २६ रुपैयाँ ८९ पैसाको लागतमा खानेपानीको सुविधा पुर्याइएको हो । 

‘गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिएको छ । दुई हजार आठ सय ९३ घरधुरीमा खानेपानीको व्यवस्था गरिएको छ,’ गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवम् सीआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २, अर्चलबोटको उपल्लो अलैँचेका घरधुरीमा पनि मिटर प्रणालीमा पानी पुर्याएको हो ।

तेह्र लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरधुरीमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’का अध्यक्ष प्रितबहादुर लोहनीले जानकारी दिनुभयो । 

यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याएर मिटर प्रणालीमार्फत वितरण गरिएको उहाँले बताउनुभयो । घरकै धारामा पानी आएसँगै अब समयको बचत हुनुका साथै सरसफाइ र तरकारी खेती गर्न सहज हुने स्थानीय प्रमिला थापा बगालेले बताउनुभयो।

सङ्घीय सरकारको लक्ष्यअनुसार नै नागरिककाे घरघरमा पिउने पानीकाे सुविधा पुर्याउन गाउँपालिका निरन्तर जुटिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । ‘सबै नागरिकसम्म खानेपानीको सुविधा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,’ उहाँले भन्नुभयो ।   

लमजुङको श्रीमञ्ज्याङमै सिँचाइको व्यवस्था : कृषि उत्पादनमा सघाउ पुग्ने 

यसैगरी, श्रीमञ्ज्याङमै सिँचाइको पनि व्यवस्था गरिएको छ । दोर्दी गाउँपालिकाको समन्वय र राष्ट्रिय योजना आयोगको विशेष अनुदानमा श्रीमञ्ज्याङमा सिँचाइको व्यवस्था गरिएको हो ।

श्रीमञ्ज्याङमा कृषि विकासको उच्च सम्भावना रहेकाले आवश्यक सिँचाइको व्यवस्था गर्नका लागि राष्ट्रिय योजना आयोगको विशेष अनुदानअन्तर्गत पचास लाखको लागतमा सिँचाइको व्यवस्था गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।

यस क्षेत्रका विभिन्न ठाउँमा १९ हजार लिटर क्षमताकाे पानी ट्याङ्की निर्माण गरी पानी सङ्कलन गरी सिँचाइको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस सिँचाइबाट श्रीमञ्ज्याङ क्षेत्रका एक हजार रोपनी क्षेत्रफल जमिन सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो ।

विभिन्न ठाउँमा निर्माण गरिएको ट्याङ्कीमा मकै खोरियाबाट पानी ल्याएर सङ्कलन गरिएको र किसानले आवश्यकताअनुसार सङ्कलित पानी सिँचाइको रुपमा उपयोग गर्न सक्ने पनि उहाँले बताउनुभयो ।

हिउँदको समयमा खेतबारीमा सिँचाइका लागि सहज हुने स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था भएसँगै कृषि उत्पादन वृद्धिमा सघाउ पुग्ने स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया