दैलेखमा आफैले दिएकाे बलात्कारकाे उजुरी विपरीत बयान बदल्ने महिलालाई ३ महिना कैद

 चैत १८, २०७८ शुक्रबार ९:२७:७ | अमर सुनार
unn.prixa.net

दैलेख – आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । 

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्ताे सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो ।

राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ । बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र चन्दलाई अदालतले सफाई दिएपछि आजै कारागारबाट छुटेका छन् । 

झण्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन् । बलात्कार घटना लगत्तै आरोपित फरार भएका थिए । आरोपित फरार भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले तयार गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले १३ महिनापछि २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेस गरेको थियो । अभियोग दर्तापछि अदालतले म्याद जारी गरेपछि २०७८ मङ्सिर १५ गते अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित दिपेन्द्र चन्द चार महिनादेखि जिल्ला कारागारमा थुनामा थिए ।

प्रहरीमा आफैले दिएको उजुरी विपरीत अदालतमा बयान बदलेको घटनामा झुट्टा उजुरी दिएको कसूरमा कैद गरिएको यो तेश्रो घटना हो । यसअघि पनि झुट्टा उजुरी कसूरमा कैद गरिएका घटनाहरु बलात्कार घटनाकै भएकाे प्रहरीले जनाएकाे छ ।

आठ वर्ष अघि नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका एक किशोरबाट बलात्कृत भएको भनी दिएको उजुरी विपरीत अदालतमा विवाह गर्ने गरी सहमतिमा सहवास भएको भनी बयान बदलेको घटनामा आरोपितले सफाई पाएर कारागारबाट छुटेका थिए भने १७ वर्षीया उजुरीकर्तालाई १५ दिन कैद सजाय भएको थियो ।

त्यसैगरी पाँच वर्ष अघि महाबु गाउँपालिका–४ गैंडाबाजका एक युवकले आफूलाई बलात्कार गरेको भनेर प्रहरीमा दिएको उजुरीको उल्टो अदालतमा बयान बदल्ने १६ वर्षीया उजुरीकर्तालाई पनि एक महिना कैद सजाय भएको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया