पक्की सडकले फेरिएको हेटौँडाको राजदेवी क्षेत्र

 बैशाख ९, २०७९ शुक्रबार १२:१५:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको राजदेवी क्षेत्रमा पाँच वर्षअघिसम्म थोरै ठाउँमा मात्र पक्की सडक निर्माण भएका थिए । राजदेवीको मूल सडक निर्माण भएको झन्डै तीन दशकपछि पालिकामा जनप्रतिनिधि आएपछि यस क्षेत्रमा पक्की सडक निर्माण भएको स्थानीयवासी बताउँछन् । 

आफू जनप्रतिनिधि भएर आएपछि हरेक वर्ष राजदेवी क्षेत्रमा पक्की सडक निर्माणका लागि बजेट छुट्याएर काम गरिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत बताउनुहुन्छ । पालिकामा आफूहरू आएपछि विकासको ढोका नै खुलाएको मेयर महतको दाबी छ । 

पक्की सडक निर्माण भएपछि यस क्षेत्रमा हिउँदमा सडकमा धुलो उड्ने र वर्षायाममा हिलो हुने समस्याको अन्त्य भएको स्थानीयवासी बताउँछन् । हेटौँडा उपमहानगरपालिकाको सबै वडामा नयाँ सडक निर्माणसँगै स्लाब ढलान र कालोपत्र गर्ने क्रम अगाडि बढिरहेको छ । सडकको दिगोपनका लागि हेटौँडा उपमहानगरपालिकाले लिएको स्लाब सडक निर्माण नीतिले बजेटको राम्रो उपयोग भएको छ ।

पालिकामा जनप्रतिनिधि आएपछि पक्की सडक बन्न थालेपछि स्थानीयवासीले हेटौँडा उपमहानगरपालिकाको खुलेरै प्रशंसा गरेका छन् । जनप्रतिनिधि आउनुअघिसम्म खाल्डै खाल्डो र धुलाम्य हुने गरेको हेटौँडा १७ को राजदेवी सडकमा अहिले स्लाब सडकमा परिणत भएको छ । ५० वर्षसम्म धेरै ठाउँमा गुहार्दा पनि नबनेको बाटो उपमहानगरपालिकाको सहयोग र मेयर महतको चासोले गर्दा बनेको भन्दै स्थानीयवासी खुसी व्यक्त गर्छन् ।

हरेक वर्ष आफ्नो क्षेत्रमा पक्की सडकलगायत विकासका काममा उपमहानगरपालिका र वडाले सकेको बजेट छुट्याएकाले स्थानीयवासी सन्तुष्ट रहेका हेटौँडा १७ का वडा सदस्य भीमप्रसाद अधिकारीको भनाई छ ।

हेटौँडा ७ र ८ कमाने क्षेत्रको मुख्य सडकको हालत पनि केही वर्षअघिसम्म दयनीय थियो । खाल्डै खाल्डा र धुलाम्य हुने सडक अहिले राजमार्गका सडक जस्तै फराकिला र व्यवस्थित बनेका छन् ।हेटौँडा उपमहानगरपालिकाभित्रको हरेक गल्लीका बाटो अहिले स्तरोन्नति हुँदै गएका छन् । उपमहानगरभित्रका वर्षाैँदेखिका कच्ची सडक अहिले पक्की बनाइएका छन् । 

चार वर्षको अवधिमा हेटौँडाका ३२ ठाउँमा कल्भर्ट तथा पुल निर्माण गरिएको छ । दुई करोड ४० लाख ७८ हजार रुपैयाँको लागतमा यो काम गरिएको हो । यसैगरी हेटौँडाका विभिन्न वडाका ३६ किलोमिटर सडकमा ग्राभेलिङ गर्ने काम गरिएको छ । यसका लागि एक करोड ६७ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको छ ।

उपमहानगर क्षेत्रमा सडकको ट्र्याक निर्माणको कामले पनि गति लिएको छ । चार वर्षको अवधिमा ३५ किलोमिटर सात सय ८६ मिटरको ट्र्रयाक निर्माण गरिएको छ । 

उपमहानगरपालिकाले चार वर्षको अवधिमा ६१ वटा सामुदायिक भवन पनि निर्माण गरेको छ । यी भवन बनाउन तीन करोड ९८ लाख २४ हजार रुपैयाँ खर्च भएको छ । यस्तै खानेपानी पूर्वाधारका लागि तीन करोड ९५ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ । ऊर्जा र विद्युतका क्षेत्रमा १२ लाख ३१ हजार रुपैयाँ खर्च गरिएको छ । सिँचाइका क्षेत्रमा एक करोड रुपैयाँ खर्च गरिएको हो । 

उपमहानगरपालिकाका १९ वटै वडामा शिक्षासम्बन्धी पूर्वाधारमा चार करोड ८८ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी पर्यटनका क्षेत्रमा चार करोड ९३ लाख ८२ हजार रुपैयाँ खर्च गरिएको उपमहानगरपालिकाको योजना महाशाखाका प्रमुख सत्यनारायण साह बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया