कांग्रेससँग एमालेलाई गाली गर्ने र धारेहात लगाउने नीति मात्रै छ : अध्यक्ष ओली

 बैशाख १८, २०७९ आइतबार १९:४४:१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश विकास गर्ने कुनै नीति नभएकाे बताउनुभएकाे छ । आज आइतवार पार्टीले हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । 

कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा र प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै ओलीले भन्नुभयाे, ‘कांग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ । कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई गाली गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गाली गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौँ ।’ 

कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले फेरि पनि चुनाव भाँड्ने षड्यन्त्र गरिसकेको आराेप लगाउनुभयाे । ‘गठबन्धनले चुनाव हुन नदिएर अहिले दुई महिना पछाडि धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरि चुनाव हार्ने डरले षड्यन्त्र सुरु भएको छ’, उहाँले भन्नुभयाे । 

गठबन्धनको सरकारले चुनावी आचारसंहिता लागू भएपछि पनि भोटका लागि अरबाैँकाे स्वास्थ्य सामग्री किनेको अध्यक्ष ओलीकाे आरोप छ । उहाँले व्यङ्ग्य गर्दै भन्नुभयाे, ‘गठबन्धनको सरकारले पनि काम गरेको छ नि । जता हेरे पनि मन्त्री, झन्डा र मन्त्रालय छन्, कत्ति विकासै विकास छ हेर्नुस् त । ’ 

आमसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले हेटौँडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउनुभयाे । हेटौँडामा चार दशकदेखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौँडावासीलाई एमालेले न्याय गर्ने उहाँले बताउनुभयाे । विकास र सुशासनका लागि एमाले सधैँ नागरिककाे पक्षमा रहेको उहाँको दाबी थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया