८ सय किलोमिटर सडक, ३ सय वटा पुल बनाइने

 जेठ १०, २०७९ मंगलबार २०:३०:४१ | रासस
unn.prixa.net

मैलुङ–स्याफ्रुबेसी सडक

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षमा थप आठ सय किमी सडक निर्माण, दुई सय ५७ किमी स्तरोन्नति गर्ने र तीन सय वटा पुल निर्माण गर्ने भएको छ । 

आज मङ्गलवार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन सडक सम्पन्न गर्ने र आधुनिक सडक निर्माण सरकारको योजना रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गलाई बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण एसियन हाइवे स्तरमा स्तरोन्नति गर्ने नीतिअनुसार कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । पथलैया–कमला र पथलैया–नारायणगढ खण्डको निर्माण सुरु गरिने भएको छ । 

काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग तोकिएको समयमा सम्पन्न गर्न निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्ग र तराई/मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तीमा चार लेनमा स्तरोन्नति गरिने छ । सप्तरीको गोविन्दपुर–छिन्नमस्ता हुँदै उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिइने सरकारको योजना छ । 

चक्रपथलगायत काठमाण्डाै उपत्यकाका सडक विस्तार र स्तरोन्नति गर्नुका साथै सम्भाव्य स्थानमा फ्लाई ओभर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तीन तहको सरकारको साझेदारीमा कालोपत्र सडक नपुगेका स्थानीय तहमा सडक निर्माण गरी प्रादेशिक तथा राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने बताइएको छ । 

राष्ट्रिय गौरवका कालीगण्डकी, कर्णाली र कोसी करिडोर निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्णाली करिडोरमा बाँकी ट्र्याक खोल्ने काम सम्पन्न गरेर आउँदाे वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिने उल्लेख छ । 

हुलाकी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग द्रुतरूपमा सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्रमा स्तरोन्नति गरिनेछ । चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रमुख व्यापारिक नाकालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडक स्तरोन्नति प्राथमिकता दिइने योजना छ । 

मदन भण्डारी राजमार्गमा बाँकी काम चाँडो सम्पन्न गरिने छ । त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाई ओभर, अण्डर पाससहित आधुनिक सडक सञ्जाल विस्तार गरिने छ । सिस्नेखोला–नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण सम्पन्न गरिने र सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने बताइएको छ । आउँदाे वर्ष नै पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवाल खण्डको दाउन्नेमा तथा पृथ्वी राजमार्गको मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङ निर्माण गर्न पूर्वतयारी गरिनेछ । 

आउँदाे वर्ष स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने कार्यक्रममा उल्लेख छ । महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुल निर्माण सम्पन्न गरिनेछ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया