भारत निर्यात हुन थाल्यो बिजुली

 जेठ १९, २०७९ बिहीबार १५:५५:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो ।

दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका छन् । गएकाे वर्षको कात्तिकदेखि पनि ती आयोजनाको बिजुली भारत निर्यात भएका थिए ।

नेपालका नदीहरूमा अहिले जलसतह उल्लेख्यरूपमा बढेको छ । समयमै वर्षा भएका कारण नदीमा जलसतह उल्लेख्यरूपमा बढेकाे हो ।

प्राधिकरणका अनुसार कुल २४ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको देवीघाट विद्युत् गृहकाे बिजुली हिजो (बुधवार मध्यरात) देखि भारतीय बजारमा निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । केही दिनपछि थप बिजुलीसमेत भारत निर्यात हुनेछ ।

अहिले नेपालको कुल जडित क्षमता दुई हजार तीन सय मेगावाटको हाराहारीमा पुगेको छ । चालु आवको अन्त्यसम्म थप केही आयोजनाले बिजुली उत्पादन गर्न थाल्नेछन् ।

मागभन्दा बढी बिजुली उत्पादन भएपछि त्यसलाई खेर फाल्नुभन्दा निर्यात गर्नु उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटमा तय हुने ब्लकका आधारमा नेपालले बिजुली निर्यात एवम् बिक्रीका लागि राखेको छ । मागअनुसार प्रत्येक ब्लकको मूल्य पनि फरक–फरक हुन जान्छ ।

भारतमा अत्यधिक गर्मी बढेकाले पनि बिजुलीको माग धेरै छ । विवरणहरूमा जनाइएअनुसार अधिकतम प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा) मा बिजुली खरिद बिक्री गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । 

केही समय पहिले भारतको ऊर्जा एक्सचेन्ज बजारमा बिजुलीको मूल्य अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन गर्ने संस्थाले प्रतियुनिट १२ भारुभन्दा माथि बिक्री गर्न नपाउने गरी हस्तक्षेप गरेको थियो ।

प्राधिकरणका अनुसार कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाको बिजुली पनि भारत निर्यातको तयारी भइरहेको छ । नेपालमा खेर जाने बिजुली भारत निर्यातका लागि उच्चस्तरीय सहमति भइसकेको छ । भारतीय बजारमा कुल तीन सय ६४ मेगावाट बिजुली निर्यातका लागि केही समय पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा सहमति भएको थियो ।

सहमतिअनुसार दुई सय मेगावाट हाराहारीको बिजुली भने बढी मूल्यमा पनि बिक्री गर्न सकिने प्रावधान छ । बढी मूल्यमा बोलकबोल गर्नेलाई बिक्री गर्न सकिने गरी प्रावधान तय गरिएको छ । बाँकी बिजुली भने ऊर्जा एक्सचेन्ज बजारमा ब्लक निर्धारण गरेर बिक्री हुन्छ ।

रुस र युक्रेन युद्धका कारण त्यसको बाछिटा अन्तर्राष्ट्रिय कोइला बजारमा पर्दा गएकाे चैत र वैशाखमा नेपालको ऊर्जा क्षेत्रमासमेत नकारात्मक असर परेको थियो । प्राधिकरणले बढी मूल्य तिरेर बिजुली आयात गर्छु भन्दा पनि पाउने अवस्था थिएन । समयमा नै वर्षा हुँदा त्यतिखेर नेपालले भोगेको नकारात्मक असरको सम्बोधन हुने अवस्थामा प्राधिकरण पुगेको छ ।

भारतले नेपालका विभिन्न ६ आयोजनाको बिजुलीसमेत लैजान सहमति जनाएको छ । प्राधिकरणका अनुसार अहिले उसका आफ्ना आयोजनाबाट १० हजार एक सय ३३ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीको आयोजनाबाट सात हजार चार सय ९५ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १२ हजार आठ सय ९९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

त्यस्तै भारतबाट तीन हजार तीन सय ५६ मेगावाट घण्टा आयात भइरहेको छ । यस्तै वर्षा वा पानीका कारण देशभर चार सय ३० मेगावाट घण्टा बिजुली अवरोध भइरहेको छ । प्राधिकरणको प्रणालीमा कुल ३४ हजार तीन सय १३ मेगावाट बराबरको ऊर्जा माग छ । 

प्राधिकरणको स्वामित्वको एक सय ४४ मेगावाटको कालीगण्डकी 'ए' बाट एक सय ४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्सको ५२ दशमलव ४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुल तीन सय २६ मेगावाट विद्युत निर्यातका लागि भारतले स्वीकृतिका लागि अनुमति दिएको छ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया