युवकमाथि सामूहिक आक्रमण गरेर घटनालाई दुर्घटना जस्ताे देखाउन खाेज्दा पक्राउ

 असार १३, २०७९ सोमबार २०:१२:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको बैजनाथ गाउँपालिका ४ को एलबीचोककाे रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरी गम्भीर घाइते बनाइ दुर्घटनाको रूप दिन खोजिएको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाएलगत्तै आक्रमणमा संलग्न चार जना किशोरलाई पक्राउ गरेको छ ।

आज सोमवार बिहान २ बजेतिर कुटपिटपछि बीच सडकमा छोडिएका बैजनाथ ६ का ३० वर्षीय मिलन भनिने क्षितिज खड्कालाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाएकाे थियाे । त्यसपछि बिहान एम्बुलेन्सबाट काठमाण्डाैकाे वीर अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ज्यान गएकाे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीले घटनामा संलग्न बैजनाथ ३ का सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापा मगर र वडा नम्बर ४ का गोविन्द विकलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालयको टोलीले तीन घण्टामै घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका चार जना जन्मदिनको कार्यक्रम र कटेजमा राति अबेरसम्म रक्सी खाएर बिहान २ बजेतिर घर फर्किने क्रममा चिसापानीबाट पैदल कोहलपुर आउँदै गरेका खड्कासँग भेट भएको थियो । खड्काले बसपार्क जाने बाटो सोधेपछि विवाद उत्पन्न भएको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । त्यसपछि चारै जनाले लाठीलगायतले खड्कामाथि प्रहार गरेका प्रहरीले जनाएको छ ।

घटनालाई दुर्घटनाजस्तो देखाउन उनीहरूले खड्कालाई बोकेर सडककाे बीच भागमा राखी आ–आफ्नो घरमा सुत्न गएका डीएसपी मल्लले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया