युएईमा धेरै कमाउनेहरुले चोर बाटोबाट पैसा पठाउँछन् : बैंकका प्रतिनिधि

 जेठ २२, २०७५ मंगलबार १८:७:३६ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – थोरै कमाई भएका श्रमिकले वैधानिक रुपमा पैसा पठाउने तर धेरै आम्दानी भएकाले हुण्डी गर्ने गरेको पाइएको युएईमा रहेका नेपाली बैंक तथा सरोकारवाला प्रतिनिधिले बताएका छन् । नेपाली दूतावास युएईले रेमिट्यान्स र यसको सदुपयोग सम्बन्धमा सरोकारवालासँग गरेको अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । 

सोमबार साँझ आयोजित छलफलमा नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समुह, राजनीतिक दलका भातृ संगठनका प्रमुख, ट्राभल्स व्यवसायी तथा संघसस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

मजदुर क्याम्पबाट धेरैले वैधानिक रुपमा पैसा पठाउने गरेको भएपनि संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीले फाइदाका लागि पैसा संकलन गरेर अवैध रुपमा पैसा पठाउने अथवा हुण्डी गर्ने गरेको युएई एक्सचेन्जका प्रमुख प्रतिनिधि सन्तोष प्रसाईंले बताउनुभयो । नजानेर भन्दा पनि जानेकैले हुण्डी गर्ने गरेको भन्दै प्रतिबद्धता र इमान्दारिताको अभावमा हुण्डी मौलाएको नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताउनुभयो । 

बैंक सरोकारवाला समुहले आठ बुँदै लिखित सुझाव सहित ज्ञापनपत्र बुझाएको सेन्चुरी रेमिटका प्रतिनिधि नविन पौडेलले बताउनुभयो । आरोप प्रत्यारोप भन्दा पनि राज्य संयन्त्रले कडाइका साथ निगरानी गर्ने अवस्था आए हुण्डी कारोवार रोकिने प्रवासी मन्च युएईका अध्यक्ष श्याम कँडेलको भनाइ थियो ।

सहभागीले दिएको सुझावलाई सम्बोधन गर्दै युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले नीति नियम बनाउने सरकारी निकायलाई यी सुझाव प्रतिवेदन बनाएर पठाउने बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम सचिव महेश दाहालको नेतृत्वमा वैधानिक माध्यमबाट रेमिट्यान्स कसरी भित्र्याउने र रेमिट्यान्सको सदुपयोग कसरी गर्ने सम्बन्धमा गठन गरेको समितिलाई सहयोग पुग्ने गरी प्रतिवेदन तयार पारिने दूतावासले जनाएको छ । 

कार्यक्रममा द्वितीय सचिव विष्णु अधिकारीले रेमिट्यान्सले धानेको मुल अर्थतन्त्र र वैदेशिक रोजगारले निम्त्याएका समस्याका बारेमा कार्यपत्र प्रतुस्त गर्नुभएको थियो । सदुपयोग हुन नसक्दा रेमिट्यान्सको ठूलो हिस्सा फजुल रुपमा खर्च भइरहेको उहाँले बताउनुभयो । 

त्यस्तै श्रम सहचारी मोतिराम भुसालले रेमिट्यान्सका सकारात्मक पक्ष र अवैधानिक तरिकाले पैसा पठाउदा हुने बेफाइदाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । हुण्डीका कारण हुने सामाजिक प्रभाव तथा अपराधिक गतिविधि नियन्त्रण गर्न वैधानिक बाटोबाट रेमिट्यान्स पठाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया