वैदेशिक रोजगारीको विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावरलाई विभागले गर्‍याे कारबाही

 साउन १६, २०७९ सोमबार १६:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ म्यानपावर कम्पनीलाई जरिवाना गराएको छ ।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पूर्व स्वीकृति लिएर पनि विज्ञापन प्रकाशन नगरेको पाइएपछि श्रम मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा कारबाही गरिएको हो । १ सय ४८ इजाजतवाला म्यानपावर कम्पनीलाई ५० हजारका दरले जरिवाना गराउँदा ७४ लाख जरिवाना रकम सङ्कलन गरिएको विभागले जनाएको छ ।

साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनु भएको छ । 

म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताउनुभयो । अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेर प्रकाशनको नाममा वैदेशिक रोजगार ऐनको दफा ४९ उल्लङ्घन गरेको विभागको ठहर छ । 

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने कुरा उल्लेख छ ।   

ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले रोजगारदाताबाट ल्याएको माग र भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने देश, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ । 

सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनुपर्छ ।

ऐन अनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रिय स्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा त्यसो नगरेको विभागको भनाइ छ ।

यसरी प्रकाशित भएको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँसी सूचनाको एक प्रति त्यसै दिन विभाग पनि पेस गर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया