दसैँमा कहाँ घुम्न जाने ?

 असोज १३, २०७५ शनिबार १७:४१:० | रामचन्द्र मिश्र
unn.prixa.net

दसैँ नजिकिएको छ । परदेश र स्वदेशकै विभिन्न ठाउँमा कामको सिलसिलामा रहेका सबै नेपाली दसैँमा घर–परिवारसँग भेटघाट गर्छन् ।

वर्षभरि दुःख गरेर रमाइलो गर्ने समय पनि यही दसैँ नै हुने गरेको छ । दसैँ परिवारका साथ रमाउने, खाने र घुम्ने समय पनि हो । केही दिनको बिदा रमाइलो बनाउन प्रायः स–परिवार घुम्न जाने गरेका पनि छन् ।

घुमफिर रमाइलो गर्ने आधार पनि हो । धेरै नेपालीले घुमफिर गर्ने बानी बसालिसकेका छन् । अरुको संस्कार, संस्कृति, अन्य ठाउँको भौगोलिक बनाेट तथा प्राकृतिक सुन्दरता बुझ्न भ्रमण आवश्यक हुन्छ । घुमफिर अध्ययनकाे राम्राे पाटाे पनि हाे । नेपालमै पनि धेरै रमणिय गन्तव्यहरु छन् ।

 

सरकारले सन् २०२० सम्मलाई भ्रमण वर्ष मनाउने जनाएको छ । पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुजन सुवेदीका अनुसार सरकारले आन्तरिक पर्यटक प्रवद्धनका लागि हाइकिङ, पर्व विशेष भ्रमणलगायतलाई प्रवद्धन समेत गरेको छ । सात प्रदेशबाट पर्यटनको प्रवद्धन गर्ने सरकारको योजना छ ।

‘सातवटा प्रदेश अन्तर्गत आन्तरिक पर्यटकको वृद्धि गर्ने काम भैरहेको छ’, वरिष्ठ अधिकृत सुवेदीले भन्नुभयो, ‘अहिले छोटो समयका पर्यटक बढेका छन् । सरकारले यसवर्ष २० लाखको पर्यटकले विभिन्न ठाउँ घुम्ने लक्ष्य राखेको छ ।’

 

मुख्य चाडपर्व समेत आएको यस शरद ऋतु घुम्नका लागि उपयुक्त पनि छ । यो मौसममा घुम्नका लागि उपयुक्त केही गन्तव्य यस्ता छन् ।

गोदावरी

गोदावरी ललितपुरमा पर्छ । धार्मिक तथा पर्यटकीय स्थल गोदावरीमा प्रकृतिको समेत आनन्द लिन सकिन्छ । वर्षमा एक पटक गोदावरीमा ठूलो मेला लाग्ने गर्छ । गोदावरीका रहेको बोटानिकल गार्डेनमा अध्ययन साथसाथै मनोरञ्जन लिन आउनेको भीड लाग्ने गरेको छ ।

यहाँ विभिन्न प्रजातिका बोटविरुवाहरु, जीवहरुको संरक्षण गरेर राखिएको छ । गोदावरीको भ्रमणमा धार्मिक साथै पर्यटकीय आनन्द लिन सकिन्छ । गोदावरीमा ललितपुरको लगनखेलबाट गाडी लाग्ने गर्छ । २०–२५ रुपैयाँमै लगनखेलबाट गोदावरी पुग्न सकिन्छ ।

नगरकोट

भक्तपुरमा पर्ने नगरकोट प्राकृतिक रुपमा मनोरम स्थल हो । काठमाडौं उपत्यकामा पर्ने नगरकोट काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा पर्छ । गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने नगरकोटबाट सफा मौसममा सगरमाथा, धौलागिरि, कञ्जनजङ्घा, मनाश्लु, लाङटाङ, गौरिशंकर, ल्होत्से, मकालुजस्ता हिमालको दृश्य देख्न सकिन्छ ।

यहाँ सूर्यदयको दृश्य हेर्न पर्यटकहरु आउने गर्छन् । सूर्योदयको दृश्य हेर्ने विश्वका दश स्थलमध्ये यो एक उत्कृष्ट स्थान पनि हो । यहाँ ब्राम्हण, क्षेत्री, गुरुङ र तामाङहरुको बसोबास रहेको छ । यहाँ राणाकालीन दरबारहरु पनि रहेका छन् । नगरकोट राणाहरुको मनोरञ्जनस्थल तथा समय बिताउने ठाउँ पनि रहेको इतिहासमा उल्लेख गरिएको छ । नगरकोटमा मोटरबाटोबाट पुग्न सकिन्छ । काठमाडौंबाट सिधैँ गाडीमा नगरकोट पुग्न सकिन्छ ।

काठमाडौंबाट भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सकिन्छ । कमलविनायक पुग्न २५ रुपैयाँ लाग्दछ भने साढे एक घण्टाको बाटो कमलविनायकबाट नगरकोट पुग्न ४५ रुपैयाँ लाग्छ ।

दोलखाको कालिञ्चोक

दोलखा जिल्लामा रहेको कालिञ्चोक पनि प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँबाट प्रकृतिको हरियालीसँगै हिमाली दृश्य राम्रोसँग देखिन्छ । धार्मिक आस्था भएकाहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाहरु समेत देख्न सकिन्छ ।

चिसो मौसममा यहाँ हिउँ पर्ने गर्छ । कालिञ्चोक जानका लागि काठमाडौंबाट दोलखा जाने गाडीको टिकट लिन आवश्यक हुन्छ । काठमाडौंबाट दोलखाको सदरमुकाम चरिकोट जाने गाडी बिहान ६ बजेदेखि नै लागिरहेको हुन्छ । चरिकोट काठमाडौंबाट १३२ किलोमिटर टाढा रहेको छ ।

काठमाडौंबाट दोलखा जानका लागि रिजर्ब गाडी पनि पाइन्छ । चरिकोटपछि रिजर्ब गाडीमा कुरी पुग्न सकिन्छ । त्यहाँ कालिञ्चोक भगवतीको मन्दिर रहेको छ । चरिकोटबाट आइकिङ गरेर जानेहरु कुरी पुग्न ७–८ घण्टा लाग्ने गर्छ । कालिञ्चोक पुग्न बढीमा झण्डै २ हजार गाडी भाडा लाग्न सक्छ ।

पोखरा

कास्की जिल्लामा पर्ने पोखरा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो ।

यहाँ ताल, गुफा, हिमाल साथै प्याराग्लाइडिङको मज्जा लिन सकिन्छ । यहाँबाट अन्नपूर्ण हिमाल, पुर्नहिल जस्ता क्षेत्रहरुको पदयात्रा समेत गरिन्छ । पोखरा जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हुन्, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर ।

सराङकोट पुगेर अन्नपूर्ण माछापुच्छ्रे जस्ता हिमालको दृश्य पनि हेर्न सकिन्छ । काठमाडौंबाट पोखरा सिधैँ गाडीमा पुग्न सकिन्छ । काठमाडौंबाट पोखरा गाडीमा जाँदा ६००–७०० रुपैयाँ गाडी भाडा लाग्दछ । माइक्रोबास, प्लेन र रिजर्ब गाडीमा पनि पोखरा पुग्न सकिन्छ ।

मुस्ताङ

हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणिय ठाउँ हो । गएको दुई महिना अघि धार्मिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत त्यस क्षेत्रमा पुग्नुभएको थियो ।

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीयस्थल हो । त्यहाँका नागरिको रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षणको केन्द्र हो । कागबेनी, नौतले गुफा, थकाली संस्कृति, कोराला नाका, मुस्ताङी राजाको मान्यता लगायतका कारण त्यहाँ पर्यटकहरु जाने गर्दछन् ।

म्याग्दी हुँदै गाडीबाट पनि जोमसोम पुग्न सकिन्छ । फरक जीवनशैली र खानपानका कारण पनि मुस्ताङ पुग्ने पर्यटकको आतिथ्य राम्रो हुने गर्दछ । जोमसोमको चिसो बतास, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, नौतले गुफालगायत मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका प्रख्यात छन् । तपाईँले आफ्नै गाडी लिएर जानुभयो भने पोखराको बेनीसम्म पुग्न सकिन्छ ।

काठमाडौंबाट बेनी ३०० किलोमिटर टाढा रहेको छ । बेनीबाट जीप वा बसमा मुक्तिनाथ पुग्न सकिन्छ । काठमाडौंबाट बेनीसम्म पुग्न ८०० रुपैयाँ लाग्छ । बेनीबाट घासा झण्डै ४०० मा पुगिन्छ । घासाबाट जोमसोम झण्डै साढे चारसय तिरेर पुग्न सकिन्छ । जोमसोमबाट मुक्तिनाथ पुग्न झण्डै ३ सय रुपैया लाग्छ । जोमसोम बेनीबाट जोमसोम झण्डै ७२ किलोमिटर टाढा रहेको छ । जोमसोमबाट मुक्तिनाथ झण्डै २१ किलोमिटर टाढा रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज

चितवन विशेष गरी प्राकृतिक मनोरम स्थाल हो । यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा रहेका जीव, जनावरहरु हेर्न, जंगल सफारी गर्न पर्यटकहरुको भीड लाग्ने गर्दछ । चितवनको सौराह पर्यटकका लागि ख्यातिप्राप्त ठाउँ हो ।

काठमाडौंबाट चितवन सिधा गाडी जाने गर्छ । ६ सय ५० रुपैयाँदेखि ७०० रुपैयाँमा चितवन पुग्न सकिन्छ । काठमाडौंबाट प्लेन मार्फत पनि चितवन पुग्न सकिन्छ । भरतपुर एयरपोर्टबाट ट्याक्सीको माध्यमबाट चितवन राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । ठमेलबाट चितवनको सौराह जाने गाडी लाग्ने गर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज तराईको महत्वपूर्ण क्षेत्र हो । यहाँ बाघ हेर्न पर्यटकहरु जाने गर्दछन् । विभिन्न प्रजातिका जनावर, जराचुरुङ्गी, गोहीलगायत जीवको यहाँ अवलोकन गर्न सकिन्छ । थारु समुदायको संस्कृति पनि लोभलाग्दो रहेको छ ।

पूर्णरूपमा तराइ क्षेत्रमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन् । निकुञ्जसँगै थारु समुदायको मौलिक संस्कृतिले पनि बर्दिया जाने पर्यटकको सत्कारमा थप फाइदा पुगेको छ ।

पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि बर्दिया पुग्न सकिन्छ । काठमाडौंबाट झण्डै १३ घण्टाको यात्रामा बर्दिया पुग्न सकिन्छ । काठमाडौंबाट नेपालगञ्ज हवाइ यात्रामा पुगेर त्यहाँबाट बसको यात्राबाट पनि जान सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालगञ्जबाट ८७ किलोमिटर टाढा छ । पब्लिक गाडीमा नेपालगञ्जबाट ३ घण्टाको यात्रामा बर्दिया राष्ट्रिय निकुञ्ज पुगिन्छ ।

लुम्बिनी

लुम्बिनी विश्वमै प्रख्यात धार्मिक पर्यटकस्थल हो । बौद्धमार्गीहरुको यहाँ भीड लाग्ने गरेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध दर्शन गर्न तथा अध्ययन गर्न विश्वभरका मानिसहरु आउने गर्छन् । मायादेवीको मन्दिर लुम्बिनीको मुख्य आकर्षक केन्द्र हो ।

अशोक स्तम्भ आफैमा ऐतिहासिक छ । यहाँ गौतम बुद्धको जन्मस्थल, विभिन्न भग्नावशेष, मन्दिर महत्वपूर्ण आकर्षण केन्द्र हुन् । तिलौराकोट पनि लुम्बिनी जानेहरुका लागि महत्वपूर्ण आकर्षक केन्द्र बन्ने गरेको छ । काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ ।

लुम्बिनी काठमाडौबाट सिधै गाडीबाट पनि पुग्न सकिन्छ । लुम्बिनी पुग्न काठमाडौंबाट झण्डै हजार रुपैयाँ भाडा लाग्दछ ।

रारा

मुगु जिल्लामा पर्ने रारा ताल महत्वपूर्ण पर्यटकीय स्थल हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाहीमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकको लागि रमणिय ठाउँ हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोलीले केही समय पहिले रारा पुगेर सम्बोधन गर्नुभएको थियो । तालमा पुगेर डुंगा सयर गर्दा निकै रमाइलो लाग्ने गर्छ ।

प्रकृतिको उपहारको रूपमा रहेको रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली क्षेत्र मानिन्छ । यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीलेसमेत आकर्षक बनाएको छ ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालमा विश्वमै कहीँ नभेटिने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ । काठमाडौंबाट हवाइ यात्रा मार्फत नेपालगञ्ज पुग्न सकिन्छ ।

नेपालगन्जबाट हवाई यात्रामा मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । काठमाडौंबाट १२ घण्टाको गाडी यात्राबाट पनि नेपालगञ्ज पुग्न सकिन्छ । नेपालगञ्जबाट कालिकोट पुग्न एकदिन लाग्छ । कालिकोटबाट नाग्मा र नाग्माबाट फेरि बस चढेपछि गमगढी पुगिन्छ । गमगढीबाट पाँच घण्टाको हाइकमा रारा पुग्न सकिन्छ ।

खप्तड राष्ट्रय निकुञ्ज

डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो खप्तड क्षेत्र । यहाँ हिउँदमा हिउँ र अन्य समय हरियाली वातावरणले पर्यटकको मन तान्ने गरेको छ ।
बसन्तमा यहाँ फूलहरु फुलेको,  चराचुरुङ्गीको चिरचिर आवाजले निक्कै रमाइलो बनाउँछ । खप्तड धार्मिकस्थल पनि हो । त्यहाँ खप्तड बाबाले तपस्या गरेको हिन्दुहरुले विश्वास गर्ने गरेका छन् ।

अरु समय हरियाली देखिने खप्तडमा पुस महिनापछि भने हिउँले ढाकेको हुन्छ । खप्तडका ठूला फाँटहरुमा फुल्ने विरङ्गी फूलहरु त्यहाँको विशेषता हो । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

एक दिनमा काठमाडौंबाट कैलालीको धनगढीसम्म ६ सय ५० किलोमिटर बसमार्फत वा काठमाडौंबाट सिधै धनगढीसम्म हवाईजहाजमार्फत धनगढी पुग्न सकिन्छ । अर्को दिन धनगढीबाट डोटीको सिलगढीसम्म बसमा पुग्न सकिन्छ । त्यसपछि पैदल गएर खप्तड पुग्न सकिन्छ ।

 

जीप चल्ने समयमा भने रिजर्भ गरेर लान सकिन्छ । 

इलाम 

इलाममा  चियाबारी रमाइलो ठाउँ हो । फिक्कलबाट रमाइलो दृश्य हेर्न सकिन्छ । चैत वैशाखमा इलाम घुम्न निकै रमाइलो हुन्छ ।

चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

सूर्योदय, सूर्योस्त र तराईका फाँटहरु झनै सुन्दर देखिन्छन् । माइपोखरी, कन्याम निकै रमणिय ठाउँ रहेको छ । त्यस्तै श्रीअन्तु डाँडाबाट सूर्यको किरण र हरियाली वातावरण निकै रोचक देखिन्छ ।

अन्नपूर्ण पदमार्ग 

पत्रयात्राका सौखिनका लागि अन्नपूर्ण पदमार्ग राम्रो विकल्प हो ।

 

अन्नपूर्ण पदमार्ग नेपालीमाझ मात्र होइन विश्वभर चर्चित छ । लमजुङ सदरमुकाम बँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा पूरा हुन्छ ।

कास्कीबाट पनि अन्नपूर्ण पदयात्रा सुरु गर्न सकिन्छ । ठाउँ ठाउँमा भएका विश्राम स्थलले पनि अन्नपूर्ण पदमार्गमा थकाई मार्न सहज हुन्छ । पदयात्रीका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज 

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बुको उत्तरी भागमा छ । जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमाल तथा यस वरिपरिको क्षेत्र ओगटेको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलोमिटर छ । सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ । निकुञ्ज १८ सय मिटरदेखि ४ हजार ४८ मिटरसम्मको उचाईमा रहेको छ ।

यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर, मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यससँगै सगरमाथा पत्रयात्राका लागि आउने पर्यटक पनि उल्लेख्य छन् ।

सर्वोच्च शिखर आरोहणका लागि साथै आधार शिविरसम्मको पदयात्रा पनि पर्यटकको रोजाइँमा छ । काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।

पुनहिल 

म्याग्दीमा रहेको पुनहिल चारैतिर गुराँसे जङ्गलले घेरिएको ३ हजार २ सय १० मिटरको उचाईमा रहेको छ । यहाँ बिहानीको सूर्योदयसँगै, हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन र कोलाहलमुक्त वातावरणमा रमाउन सकिन्छ ।

 

म्याग्दी घोरेपानी, पुनहिल क्षेत्र पोखरादेखि नजिक हुनुले पनि पर्यटक बढेका छन् । म्याग्दीको भुरुङ तातोपानी, मोहरेडाँडा, कास्कीको घान्दु्रक, उल्लेरी हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाका दृष्यले पर्यटकको मन जितेको छ ।  

पुनहिलमा चैत वैशाखमा ढकमक्क फूल्ने लालीगुराँस र पुस, माघमा सेताम्मे हिउँ पर्दा थप आकर्षक देखिन्छ । पर्यटकीय नगरी पोखरादेखि कास्कीको नयाँपुल हुँदै एकै दिनको पैदलयात्रामा पुग्न सकिने पुनहिल विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटकहरुका लागि पनि प्रमुख गन्तव्य स्थल बनेको छ ।

 
 

अन्तिम अपडेट: चैत २९, २०८०

रामचन्द्र मिश्र

रामचन्द्र मिश्र उज्यालाेमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया