बर्दियामा उम्मेदवारलाई मुक्तकमैया र सुकुम्बासीकै भर

 कात्तिक ३०, २०७९ बुधबार २०:२:५५ | भावुक योगी
unn.prixa.net

बर्दिया – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आफ्नो पक्षमा मत खसाल्न बर्दियाका मुक्तकमैया र सुकुम्बासी बस्तीमा प्रतिनिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुसँगै दलका नेता तथा कार्यकर्ताहरु यतिबेला प्रचारप्रसारमा लागेका छन् । सत्ता गठबन्धनका उम्मेदवार, नेता तथा कार्यकर्तासँगै अन्य दलका उम्मेदवारहरु र नेता तथा कार्यकताहरुले यतिबेला आफ्नो ध्यान सुकुम्बासी तथा मुक्तकमैया बस्तीमा केन्द्रित गरेका छन् ।

बर्दिया मुक्तकमैया र सुकुम्बासीहरुको बसोबास बढी भएको जिल्ला हो । यसअघि ४ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा संघीय संरचना पश्चात् २ वटा प्रतिनिधि सभा क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि ४ वटा क्षेत्र रहेको छ । बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ स्थानीय तह छन् । क्षेत्र नम्बर २ भने मुक्तकमैया र सुकुम्बासीको बसोबास बढी भएको क्षेत्र हो । त्यसैले गर्दा पनि चुनाव जित्न मुक्तकमैया र सुकुम्बासीकै मत निर्णायक हुने ठहर गरेका अहिलेका उम्मेदवारहरु, दलका नेता तथा कार्यकर्ताहरु मुक्तकमैया र सुकुम्बासीलाई जसरी पनि रिझाउने दाउमा लागेका हुन ।

यसअघि २०७४ सालको निर्वाचनमा मुक्तकमैया र सुकुम्बासी बस्तीमा उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु भोट माग्न पनि आएनन् र मतदाता शिक्षा टोली पनि भोट कसरी हाल्ने सिकाउन आउँथेनन् । तर यसपटक धेरैजसो बस्तीमा दुई दिन अघिदेखि उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु भोट माग्न बस्तीमै जाने गरेका छन् । 

भोट कसरी हाल्ने सिकाउँदै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सुकुम्बासी र मुक्तकमैया नै निर्णायक हुने भन्दै सुकुम्बासी र मुक्तकमैयाको मत कसरी तान्ने भन्ने रणनीति बनाउन थालेका छन् । एकातिर बस्तीका अगुवालाई रिझाएमा मुक्तकमैया र सुकुम्बासी बस्तीको पुरै भोट पाइन्छ भन्ने नेताहरुको बुझाइ छ । अर्कोतिर गाउँको बड्घरलाई समातेमा पनि थारु समुदायको पुरै भोट पाइन्छ भन्नेमा उम्मेदवारसँगै दलका नेता तथा कार्यकर्ताहरु लागेका छन् ।

चुनावी मैदानमा रहेका उम्मेदवारहरु भूमिहीन मुक्तकमैया र सुकुम्बासीलाई घरजग्गा दिने भन्दै चुनावी अभियानमा लागेका छन् । यहाँ निर्णायक मत मुक्तकमैया, सुकुम्बासी र थारु समुदायको भएका कारण सत्ता गठबन्धनका उम्मेदवारहरु र अन्य दलका उम्मेदवारहरु समेत थारु समुदायको भोट आफूतिर तान्न दौडिएका हुन् ।

यसअघिका चुनावमा गठबन्धनलाई जिताएर पठाएका मुक्तकमैया र सुकुम्बासी बस्तीका धेरैजसो मतदाताहरुले अहिले  कस्लाई जिताउने भनेर सोचेर मात्र भोट हाल्ने बताउने गरेका छन् । अघिल्लो चुनावमा वाम गठबन्धन थियो, अहिले वाम लोकतान्त्रिक अर्थात सत्ता गठबन्धन छ । यसपटक कस्ले जित्ने सहजै अनुमान लगाउन सबैलाई सकस भएको देखिन्छ । हौसिएर अघिल्लो चुनावमा उत्रेका मुक्तकमैया र सुकुम्बासी बस्तीका मतदाताहरु यसपालिको चुनावमा सोच विचार गरेर मात्र भोट हाल्ने पक्षमा रहेको मुक्तकमैया र सुकुम्बासीका अगुवाहरु बताउँछन् ।

मुक्तकमैया भूमि अधिकार संर्घष समितिका केन्द्रीय अध्यक्ष बिन्तीराम थारुका अनुसार बर्दियामा २ सय बढी सुकुम्बासी तथा मुक्तकमैया बस्ती छ । सुकुम्बासी र मुक्तकमैया बस्तीमा मतदाताको संख्या यकिन नभए पनि झण्डै ४० हजार सुकुम्बासी घरधुरी र १६ हजार बढी मुक्तकमैया घरधुरी रहेको छ । बस्ती तथा फाँटमा दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरु भोट माग्न व्यापक रुपमा चुनावी प्रचारसँगै आन्तरिक भेलामासमेत जुटेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया