अबको पाँच वर्षमा बिदेसिएकाहरू घर फर्कन सक्ने देश बनाइदेऊ

 मंसिर २०, २०७९ मंगलबार १२:५:३८ | नारायण कोइराला
unn.prixa.net

चुनाव सकियो । यसपालिको चुनाव पनि निकै रोचक भयो । युवा पुस्ताहरूको आगमनले अब त रोजगारी नपाएर खाडी पस्नेहरूका लागि पनि केही गर्लान् कि भन्ने आस पनि बढेको छ ।  

जित्नेहरूले अब भोट माग्दा गरेका बाचाहरू पूरा गर्नका लागि काम गर्ने बेला पनि सुरु भइसकेको छ । तर उनीहरूले भोलिका दिनमा कसरी काम गर्छन् भनेर हेर्न भने बाँकी नै छ । 

यसपालिको चुनावमा सबैजसो दलहरूको चुनावी एजेण्डामा देशभित्रै रोजगारी सृजना छ । सहुलियतमा ऋण दिनेदेखि विदेशबाट फर्किएकालाई बिउँ पुँजी उपलब्ध गराउनेसम्मका थुप्रै सपनाहरू साटेका छन् । यी कुरा उनीहरूले बोलेका मात्र होइनन् घोषणा पत्रमा लेखेका पनि छन् । आशा गरौँ यसपालि चाहिँ बोल्ने मात्र होइन, बोलेका कुरा पूरा पनि गर्छन् होला ।

तर परदेशीका समस्या यतिले मात्र समाधान हुँदैनन् । देशमै रोजगारी सृजना गर्न समय लाग्ला । तर निःशुल्क जान पाइने देशमा पनि लाखौँ रुपैयाँ बुझाउन पर्ने बाध्यताको अन्त्य गर्न चाहेमा समय लाग्दैन । प्रक्रिया पनि यस्तै झन्झटिलो छ । भइरहेको प्रणालीमा थोरै मात्र सुधार गरेमा पनि निकै सुधार हुन सक्छ ।

विदेशमा पुगेपछि त झन् विभिन्न समस्याहरू आउन सक्छन् । नेपालीहरू काम गर्न पुगेका कतिपय देशमा दूतावासहरू छैनन् । दूतावास भएका ठाउँमा पनि पर्याप्त जनशक्ति नहुँदा श्रमिकका समस्या समाधान गर्नमा समस्या छ । 

परदेशमा दुर्घटनामा ज्यान गुमाउने श्रमिकहरूको सङ्ख्या पनि ठुलो छ । कतिपय देशबाट सास मात्र होइन लास ल्याउन पनि समस्या छ । तर यस्ता समस्यालाई नेपालका ठुला राजनीतिक दलहरूले अहिले पनि आफ्नो मुख्य एजेण्डा बनाएका छैनन् ।

यसपालिको चुनावमा पनि परदेशीले भोट हाल्न पाएनन् । विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चितताका लागि आवाज उठ्न थालेको अहिलेदेखि हैन । तर खै किन हो यसमा कसैको पनि चासो देखिँदैन । 

तर जुन हिसाबले युवाहरू विदेश पलायन भइरहेका छन् यसतर्फ भने सोच्न जरुरी छ । विदेशमा ठुलो सङ्ख्यामा यो देशका नागरिक छन् र उनीहरूका लागि पनि केही गर्न पर्छ भनेर अब चाहिँ चुनाव जित्नेहरूले सोचुन् ।

परदेशीका मुद्दा हरेक मञ्चमा उठाउन र आफूले गरेका बाचा पूरा गरुन् । अबको पाँच वर्षमा केही गर्न नसके पनि परदेसिएकाहरुलाई देश फर्किएर केही गर्ने वातावरण बनाइदिउन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया