पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १ सय ५० नाघ्यो, घरघर पुगेर उपचार सुरु

 मंसिर २०, २०७९ मंगलबार १८:१९:२० | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ । 

बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीकाे स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएकाे थियाे । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।

बिरामीलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, सलाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले बताउनुभयो । गाउँमा वितरण गरिएको औषधिले काम नगरेको भन्दै कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गइरहेका छन् ।  बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ ।

पानीमा समस्या भएको हुन सक्ने स्थानीयवासीको अनुमानपछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी तीन सय ५० जनाभन्दा धेरै निम्तालुमध्ये धेरैजसाे बिरामी भएका बगनासकाली १ का अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।

शनिवार बगनासकाली १ चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेका हुन् । भोजमा राँगाको मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया