आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिने कार्यलाई बेवास्ता नगर्न फिफा अध्यक्षलाई खुला पत्र

 मंसिर २९, २०७९ बिहिबार ११:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका तीन दर्जनभन्दा बढी नागरिक संघसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्ने नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् ।

कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकहरूले भोगको दुर्व्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै नागरिक संघसंस्थाले खुला पत्र लेखेका हुन् । 

यसका साथै श्रमिकहरू स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाण्डौका विभिन्न ठाउँहरूमा समेत एम्नेस्टी इन्टरनेसनलले बिल बोर्डमासमेत यही सन्देश राखिएको छ । 

कतारले आप्रवासी श्रमिकलाई  क्षतिपूर्ति दिनका लागि भनेर सन् २०१८ मा छुट्टै कोष स्थापना गरेको थियो । तर स्वदेश फर्किएका श्रमिकले आफ्नो बाँकी तलब र क्षतिपूर्ति नपाएको र कोषमा श्रमिकको पहुँच पनि नभएको एम्नेष्टीको ठहर छ । 

यस्तै काम गर्दा गर्दै ज्यान गुमाएका श्रमिकका परिवारले पनि क्षतिपूर्ति पाउन नसकेको भन्दै पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । 

‘श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुर्व्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एक साथ आएका छौँ’ प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम प्रसाद लामिछानेले भन्नुभयो ।

सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माण लगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका करिब चार लाख श्रमिकहरू कार्यरत छन् ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठुलो भूमिका खेलेको भए पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भइरहेका छन् ।  नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्नको लागि सामान्यतया एक हजार अमेरिकी डलर भन्दा बढी अवैध भर्ना शुल्क पनि तिर्ने गरेका छन् । 

जोखिमपूर्ण कामकै कारण धेरै श्रमिकको ज्यान गइरहेको छ । तर मृत्युको कारण के हो भनेर कमै मात्र खोजी भएको पाइन्छ । कतारमा चर्को घामबाट बच्नका लागि श्रमिकलाई सुरक्षा दिइएको भए सन् २००९ देखि २०१७ को बीचमा निर्माणकाे क्षेत्रमा काम गर्ने झण्डै दुई सय श्रमिकलाई बचाउन सकिने एक अध्ययनले देखाएको छ । 

पछिल्लो समय कतारले आफ्नो श्रम कानुनमा सुधार त गरेको छ । तर पनि कतारमा श्रमिकमाथि हुने दुर्व्यवहार भने अझैँ कायमै रहेको एम्नेष्टीले बताएको छ । 

‘विश्वकपको अन्तिम सिट्टी बज्दै गर्दा यति धेरै आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन, उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने एउटा ठुलो खतरा रहेको छ’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो ।

सन् २०२२ को मे महिनादेखि मानवअधिकार सङ्घ संस्था, ट्रेड युनियन र फुटबल प्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुर्व्यवहारहरू रोक्नका लागि फिफा र कतारलाई एउटा कार्यक्रम नै स्थापना गर्न आह्वान गरेको छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया