अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

 मंसिर २९, २०७९ बिहिबार १७:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । 'वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान' भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलगायत सम्बद्ध पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै आइएको छ ।

दिवसलाई प्रदेश र पालिकास्तरसम्म पुर्‍याउन प्रदेश सरकार तथा स्थानीय पालिकाको अगुवाइमा जिल्लामा रहेका विभिन्न सरकारी निकाय, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–संस्था, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवम् निजी सङ्घ–संस्था, ट्रेड युनियन, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारसमेतको सक्रिय सहभागितामा मनाइने श्रम मन्त्रालयले जनाएको छ । 

देशभर कार्यक्रम मूल समारोह समितिबाट स्वीकृत भएका विविध कार्यक्रम १६ डिसेम्बर अर्थात् भोलिदेखि २२ डिसेम्बर अर्थात् पुस ७ गतेसम्म आयोजना हुनेछन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिकको रूपमा रहेका छन् । 

नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) को योगदान औसत झन्डै २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म ५० लाख आठ सय ३३ जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार बोर्डको अनुसार बोर्डको स्थापनादेखि आर्थिक वर्ष २०७८/७९ सम्म वैदेशिक रोजगारीका क्रममा १० हजार नाै सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ भने दुई हजार एक सय २५ जना गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया