देशका धेरैजसो ठाउँमा हुस्सु : उडान अवतरण प्रभावित, यात्रा गर्दा सचेत रहन सुझाव

 पुष १९, २०७९ मंगलबार ७:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा हुस्सु कुहिरो लागेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । केही दिनयता काठमाण्डौसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्दै आएको छ  । यसले सडकसँगै हवाई क्षेत्रको यात्रा प्रभावित हुन थालेको छ ।

हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी अर्थात् दृश्य क्षमता घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । भिजिबिलिटी कम हुँदा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरण प्रभावित भएका छन् । यस्तै, अन्य पहाडी र तराईका विमानस्थलबाट पनि उडान अवतरण हुन सकेको छैन ।

हुस्सुका कारण भिजिबिलिटी झन् झन् घट्दै गइरहेको छ । बिहान दुई हजार मिटर रहेको भिजिबिलिटी ७ बजेपछि १६ सयमा झरेको छ । यसले गर्दा उडान अवतरण प्रभावित भएका छन् । अहिले कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्ने क्षमता भएका जहाजलाई मात्रै उडान अवतरण गर्ने अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

१६ सयभन्दा माथिको भिजिबिलिटी आवश्यक पर्ने सबै जहाज रोकिएका छन् । लगातारको बाक्लो हुस्सुले तराईका जिल्लाको उडान अवतरण भने हरेक दिनजसो प्रभावित हुन थालेको छ । मौसम खुलेपछि मात्रै उडान अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहानको उडान ढिलाइ हुने भएकाले यात्रुलाई त्यहीअनुसार तयार हुन आग्रह गरिएको छ । समयमा नै उडान अवतरण नभएकाले मौसम खुलेपछि विमानस्थलमा चाप पर्ने देखिएको छ ।

यस्तै, भिजिबिलिटी कम हुँदा सडक दुर्घटनाको जोखिम पनि उच्च हुन्छ । दुर्घटना रोकथामका लागि तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ ।

यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन पनि ट्राफिक प्रहरीको अनुरोध छ भने पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न सुझाव दिइएको छ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया