बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

 पुस २८, २०७९ बिहिबार ८:५१:५५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बाग्मतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ । सत्तारुढ गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उप सभामुख एमालेलाई भाग लगाएको थियो ।

एमालेले भने बिहीवार मात्र दलको बैठक बसेर उप सभामुखकाे उम्मेदवार चयन गर्ने जनाएको छ । सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उप सभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानअनुसार सभामुख र उप सभामुख एउटै दल र लिङ्गको हुनुहुँदैन । सभामुख चयनका लागि भोलि शुक्रवार चुनाव हुनेछ । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रदेश सभा सचिवालयले आज बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ। यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ। सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया