बाग्मती प्रदेशमा सभामुखका लागि ३ जनाकाे उम्मेदवारी दर्ता

 पुस २८, २०७९ बिहिबार १४:५४:४५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । 

सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ । यसैगरी गठबन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल  रहनुभएकाे छ । सभामुखको चयन भने भाेलि शुक्रवार हुँदैछ ।

गठबन्धनबाट सभामुखमा राप्रपाका महामन्त्री पाठकले प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । राप्रपाको भागमा यस प्रदेशमा सभामुख परेपछि हिजाे बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारूढ दलहरूबीच मुख्य पद भागबन्डा हुँदा बाग्मतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । 

सात दलीय गठबन्धनको सत्ता भागबन्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ । सत्तारूढ गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने दलको बैठक बसेर उपसभामुख पदका उम्मेदवार चयन गर्ने जनाएको छ । 

यसैगरी नेपाली कांग्रेसका तर्फबाट सभामुखको चुनावमा सांसद शिवराज अधिकारीले उम्मेदवारी दिनुभएको हो । धादिङका अधिकारी समानुपातिक तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे । उहाँले प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभयाे ।  

यसैगरी बाग्मती प्रदेश सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँले प्रदेश सभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । प्रदेश सभामा फरक कुरा राख्दै आउने नेमकिपाले सभामुखमा पनि उम्मेदवारी दर्ता गराएको हो । यसअघि सभामुखका लागि यसरी तीन जनाको प्रतिस्पर्धा भएको थिएन । 

बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठबन्धनका दलहरूको बहुमत रहेको छ । 

सभामुखको चुनाव शुक्रवार बिहान ११ बजेका लागि समय तोकिएको छ । बाग्मती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया