वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थ मन्त्री पौडेल

 माघ ६, २०७९ शुक्रबार ६:३४:२० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रवार हुने चुनावमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावी सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री पौडेलले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऐन त्यति बेलाको आवश्यकता र चेतनाअनुसार बन्यो, अब अहिले यो क्षेत्रमा नयाँ समस्या देखा परेका छन्, ती नयाँ समस्या समाधान गर्नका निम्ति नयाँ नीति निर्माण गर्नुपर्छ, त्यस कारण रोजगार ऐनलाई पनि परिमार्जन गर्दै जानुपर्छ ।’

उहाँले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार व्यवसायीमा जाने श्रमिकको आपसी सम्बन्धलाई पनि सन्तुलित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बाग्मती प्रदेशका विनाविभागीय मन्त्री उद्धव थापाले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई ऐनमा परिमार्जन गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक एकता र पेसागत हकहितको संरक्षणका लागि स्थापित छाता सङ्गठनका रूपमा आजभन्दा ३० वर्षअघि सङ्घको स्थापना भएको हो । सङ्घले वैदेशिक रोजगार ऐन २०६४ को थप परिमार्जन गरी व्यावसायिक तथा श्रमिकमैत्री बनाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया