ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो ।
२०५२ सालमा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।
अहिले आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले वार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’
सुरुमा एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गर्नुभएको छ ।
‘चार/पाँच वर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख रुपैयाँ अनुदान मिलेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहीँकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’
आठ बिघा जमिन लिजमा लिएबापत वार्षिक तीन लाख २० हजार रुपैयाँ भाडा तिर्दै आउनुभएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिनुभयो ।
समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक सात/आठ लाख रुपैयाँसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।
‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई वर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’
गएको वर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो ।
‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्,’ उहाँले भन्नुभयो, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’
एसएलसीसम्मको अध्ययन गर्नुभएका चौधरीले केराबाट भएको आम्दानीले दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो,’ उहाँले भन्नुभयो, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।