बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
कास्की – अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।
अहिल यहाँ २६औं संस्करणको सडक महोत्सव, अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस अर्थात् डुङ्गा दाैड प्रतियाेगिता चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक शुरू भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास छ ।
रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) पोखराले सन् १९९८ मा शुरू गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्रान्ड नै बनेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौं पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।
महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग परिचित गराउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल बताउनुभयो । उहाँका अनुसार यो महोत्सव नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्ने महत्त्वपूर्ण माध्यम हो । महोत्सवमा कृषि उत्पादन, हस्तकला र वनस्पतिको प्रदर्शनी विशेष आकर्षण बनेको छ ।
स्थानीय किसान, व्यवसायी र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन् । विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ ।
पहिलो पटक आयोजना भएकाे अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्त्वलाई अझै उचाइमा पुर्याएको छ । फेवातालको सिरानमा शुरू भइरहेको यो महोत्सवमा नेपालसहित १५ वटा देशका पाइलटले सहभागिता जनाएका छन् । रङ्गीन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन् ।
पर्यटकले आकाशबाट हिमालय शृङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सक्ने पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । ‘यो महोत्सवले पर्यटकको बसाइँ लम्ब्याउने मात्र नभई अन्तर्राष्ट्रिय मिडियामासमेत ध्यानाकर्षण गरेको छ’, पहारीले भन्नुभयो, ‘यो महोत्सवले पोखरालाई साहसिक र मनोरञ्जनात्मक गतिविधिको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ ।’ बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्त्वलाई नयाँ उचाइमा पुर्याउँदै पर्यटनमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।
बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र नभई साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ ।
आजदेखि फेवातालमा शुरू भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ । नेपाल, चीन, र सिङ्गापुरका २० वटा टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ ।
बेलुन नेपाल प्रालिका बीबी ढकालले नेपालको हट एअर बेलुनले अन्तर्राष्ट्रियस्तरसम्म चर्चा पाएको उल्लेख गर्नुभयो । ‘महोत्सवबारे अन्तर्राष्ट्रिय अखबारले पहिलो पृष्ठमै तस्वीर प्रकाशित गरेका छन्, यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको हाम्रो विश्वास छ’, उहाँले भन्नुभयाे ।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र नेपालमा रहेकाे चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यले महोत्सवले साहसिक गतिविधिमा पोखराको भूमिका विस्तार गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । ‘ड्रागन बोट रेसको रोमाञ्चकता, बेलुन महोत्सवको साहसिकता र सडक महोत्सवको सांस्कृतिक झल्कोले पोखरालाई त्रिकोणीय महोत्सवको उत्कृष्ट उदाहरण बनाएको छ’, उहाँले भन्नुभयाे ।
त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पुर्याउन सफल हुने उहाँको विश्वास छ । पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उहाँको बुझाइ छ ।
प्रदेशसभा सदस्यसमेत रहनुभएकी पर्यटन व्यवसायी देवका पहारीले त्रिकोणीय महोत्सव सडक महोत्सव, बेलुन महोत्सव र ड्रागन बोट रेस पोखराको पर्यटनलाई नयाँ ऊर्जा र पहिचान प्रदान गर्ने महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो ।
‘यी गतिविधिले केवल पोखराको सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर मात्र नगरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल भएको छ’, उहाँले भन्नुभयाे । उहाँले पोखराको फेवाताल, हिमालय र सांस्कृतिक विविधताले भरिएको यो अनुभवले साहसिक खेलकुद, साङ्गीतिक उत्सव र मौलिक उत्पादनको प्रदर्शनले पोखरालाई नयाँ उचाइमा पुर्याएको बताउनुभयो ।
यी महोत्सवले नेपाली पर्यटनमा थप आयाम थप्ने विश्वासका साथ, पोखरा अब सांस्कृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि विश्वका शीर्ष गन्तव्यमध्ये एक बन्ने दिशामा अग्रसर देखिएको पहारीकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।