चिसो मौसममा खुलेको म्याग्दीकाे केभहिल (फोटोफिचर)

 माघ १४, २०७९ शनिबार ११:२०:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा घुमफिर गर्नका लागि पर्यटकीय स्थलहरु धेरै छन् । तीमध्ये बेनी नगरपालिकाभित्र केभहिल अर्थात् गुफाको डाँडो पर्दछ । बेनी–५, पुलाचौरमा रहेकाे गाजने गाउँमा पर्ने केभहिल पर्यटकीय आकर्षणको गन्तव्य बनेको छ । 

अहिले शिशिर ऋतुको समयमा मौसम सामान्यभन्दा चिसो छ । यही चिसो मौसममा केभहिल भने स्पष्टसँग खुलेको छ । यतिबेला मौसम खुलेको हुँदा केभहिलबाट देखिने सेताम्य हिमालहरु हासिरहेका छन् । यदि तपाईँ गाजेन गाउँ, जगन्नाथ मन्दिरको दर्शन तथा केभहिलको भ्रमणमा जानुहुन्छ भने हिमालसँगै हासेर मितेरी लगान पाउनुहुन्छ । 

केभहिलमा पुगेर उत्तर पूर्वतिर ठिङ्ग उभिएर हेर्ने हो भने धित मरुन्जेलसम्म हिमालको अवलोकन गर्न सकिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर, डढेकोट दरबार र पर्यटकीयस्थल केभहिल पर्ने गाजने गाउँसम्म पुग्ने सडकको विस्तार, धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधारहरु निर्माण तथा प्रचारप्रसार हुन थालेपछि केभहिल पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएकाे छ । 

मौसम खुलेको समयमा धौलागिरि रेञ्ज र अन्नपूर्ण रेञ्जका सबै हिमालहरु छर्लङ्गै देखिन्छन् । संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु पर्दछन् । यसैगरी दशौं अग्लो हिमाल अन्नपूर्णमा चारवटा चुचुरा रहेका छन् । पर्यटकीयस्थल केभहिलबाट धौलागिरि र अन्नपूर्णसँगै निलगिरी, माछापुच्छ्रे, मानापाथी, गूर्जा, चुरेनलगायत झण्डै डेढ दर्जन हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । केभहिलबाट हिमाली जिल्ला म्याग्दीको ४१ मध्ये साविकका ३६ वटा गाविसहरु देखिन्छन् । 

समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी यहाँबाट छिमेकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बाग्लुङको पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चकोटलगायत  अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देख्न पाइन्छ । गाजने गाउँको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर केभहिलमा भ्यु–टावर बनाइएको छ भने भ्यु–टावरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

जगन्नाथ मन्दिरको दर्शन र पूजा गर्न आउने तथा पुलाचौर र घतानमा कार्यक्रम लिएर जानेहरु एकैछिन भए पनि पर्यटकीयस्थल केभहिलसम्म पुगेर रमाउने गरेका छन् । हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देख्न पाइने पर्यटकीयस्थल केभहिलले पर्यटकहरुलाई खुबै लोभ्याइरहन्छ । पोखरादेखि कार्यक्रमको सिलसिलामा म्याग्दी आउनुभएकी स्वदेशी पर्यटक जमुना वर्षा शर्माले केभहिलको भ्रमण गर्न पाउँदा आफूले निकै रमाइलो र आनन्दको महसुस गर्न पाएको अनुभव सुनाउनुभयो । 

पर्यटकीयस्थल केभहिल र गाजेन गाउँसम्म सडकको पहुँच विस्तार भएकाले पछिल्लोपटक भ्रमण गर्ने पर्यटकहरु बढेका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि पुलस्त्य पुलहाश्रम–ढोल्ठान भएर जगन्नाथ जोड्ने पदमार्गको पनि निर्माण थालिएको छ । बेनी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा पूर्वाधार विस्तार गर्नका लागि आवश्यक पहल थालिएको नगरका मेयर सुरत केसीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया