विकासोन्मुख एशिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाकाे सङ्ख्या सन् २०५...
बैशाख २०, २०८१ बिहिबार
कालीकोट – निर्माण भएकाे ३७ वर्षपछि कालोपत्र भएकाे काेटबाडा विमानस्थलमा सात वर्षअघि परीक्षण उडान भयाे । तर, परीक्षण उडानपछि विमानस्थलमा अन्य उडान भएन । विमानस्थल कालोपत्र भएपछि नियमित जहाज आउने आशा बाेकेका नागरिक निराश छन् । निर्माण सुरु भएको ३ दशकपछि ०७३ साल माघमा काेटबाडा विमानस्थलमा तारा एअरले परीक्षण उडान गरेको थियो ।
स्थानीय ७५ वर्षीय नरबहादुर विष्ट आफू ३८ वर्षको हुँदा काेटबाडाको पाखो खनेर विमानस्थल निर्माण गरेकाे सम्झनुहुन्छ । ०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा विष्टले धेरै वर्ष काम गर्नुभयाे । एक महिनाको श्रमदान पनि गर्नुभयाे । जुँगाको रेखी बसेदेखि काेटबाडाको पाखो खन्न थालेका स्थानीय जनक विष्ट पनि विमानस्थल कालोपत्र भएपछि खुसी हुनुहुन्थ्याे । तर, साेचेजस्ताे उडान नभएपछि उहाँलाई दु:ख लागेकाे छ । काेटबाडा विमानस्थल कालीकोटवासीका लागि सडक विस्तारभन्दा ठूलाे सपना भएको उहाँ बताउनु हुन्छ ।
विमानस्थलको कालोपत्र गर्ने काम सकिपछि हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीको योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायतका संरचना निर्माण भइसकेका छन् । खानेपानी, बिजुली, धावनमार्गको सुधार लगायतका काम पनि सम्पन्न भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताउनु भयाे ।
विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी/पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विमानस्थल सुधारमा १५ करोड १४ लाख रुपैयाँ लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाकाे विमानस्थलभन्दा लामो र फराकिलो रहेको प्राधिकरणको दाबी छ ।
विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने प्राधिकरले जनाएकाे छ । काेटबाडा विमानस्थल सञ्चालनमा आए नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका पालिका र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुनेछ ।
नरहरिनाथका गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्ट स्थानीयले सधैँ जहाज कहिले चल्छ भनेर साेध्ने गरेकाे बताउनुहुन्छ। ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडान कहिले होला भन्दै स्थानीयले प्रश्न गर्छन्' उहाँले भन्नुभयाे ।
०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेट छुट्याइएकाे थियाे। सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मङ्गलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति सम्झाैतापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट काेटबाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।