खाेटाङ : ग्यारेजमा थन्किए एम्बुलेन्स, नागरिकलाई अस्पताल जान सास्ती

 माघ २७, २०७९ शुक्रबार १०:३०:२६ | रासस
unn.prixa.net

फाइल तस्बिर

खाेटाङ - छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले सात वटा एम्बुलेन्स एकसाथ उपलब्ध गरायाे । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई एक करोड १२ लाख रुपैयाँमा खरिद गरिए एम्बुलेन्स उपलब्ध गरायाे । तर, तर चाहिएका बेला ती एम्बुलेन्स  उपलब्ध नहुँदा नागरिकले सास्ती बेहाेर्नु परेकाे छ । 

जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐँसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिम्पानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो । जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । 

ऐँसेलुखर्क, लामाखु र सिम्पानीको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन् । एम्बुलेन्स मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । ऐँसेलुखर्कको ग्यारेजमा चार वर्षदेखि थन्किएको एम्बुलेन्स मर्मत खर्च बढी लाग्ने भएकाले त्यतिकै रहेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । 'एम्बुलेन्स मर्मत गर्न छ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ', उहाँले भन्नुभयो ।

लामाखुको एम्बुलेन्स तीन वर्ष अगाडि सिराहाको कञ्चनपुरमा दुर्घटनामा परेपछि उतै थन्किएको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलनचन्द्र राईले जानकारी दिनुभयो । 'त्याे एम्बुलेन्स पुनः सञ्चालनमा आउने सम्भावना कम छ', उहाँले भन्नुभयो । 

यस्तै सिम्पानीको एम्बुलेन्स बिग्रिएर थन्किएको दुई वर्ष भएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो । खर्च व्यवस्थापन गरेर बिग्रिएको एम्बुलेन्स पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । चिसापानी, डाँडागाउँ, बाक्सिला बजार र बुइपाको एम्बुलेन्स भने अहिलेसम्म सञ्चालनमा छन् । तर उचित व्यवस्थापन नहुँदा बिरामीलाई आवश्यक परेका बेला भने ती उपलब्ध नहुने सेवाग्राहको आरोप छ। 

जिल्ला अस्पताल, बुइपा, ऐँसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, दिप्रङ चुइचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा पनि अहिले एम्बुलेन्स सञ्चालनमा छन् । बराहपोखरी, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, ऐँसेलुखर्क र साकेलाले आफ्नै पहलमा पनि एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छन् । 

खोटाङ सेवा समाज बेलायतले दिएको सात वटाबाहेक जिल्लामा अन्य नौ वटा एम्बुलेन्स छन् तर चाहिएको समयमा उपलब्ध नभएको उपभोक्ताको गुनासो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङका लागि उपलब्ध गराएको एम्बुलेन्स दिक्तेलमा रहेकाे रत्नपार्कमा बिग्रिएर थन्किएको छ । हलेसी तुवाचुङ नगरपालिकासित अहिलेसम्म एम्बुलेन्स छैन । 'उपलब्ध  एम्बुलेन्स पनि बिग्रिएर काम नलाग्ने अवस्थामा छ', स्थानीय चक्रबहादुर राईले भन्नुभयो ।  

नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाको एम्बुलेन्स पनि बिग्रिएको छ । केही समय अगाडि काभ्रेको धुलिखेलमा दुर्घटनामा परेपछि अहिले मर्मत भइरहेको रेडक्रस खोटाङका सभापति ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्लामा रहेका एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईको भनाइ छ । 

'सबै ठाउँमा पर्याप्त स्वास्थ्य सेवा उपलब्ध छैन । जुनसुकै समयमा पनि समस्या आउन सक्छ', उहाँले भन्नुभयो, 'सम्भावित घटनाबाट बचाउन उपलब्ध एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेको छु ।' जिल्लाका प्रायजसाे सडक कालोपत्र नगरिएकाले एम्बुलेन्स सञ्चालनमा समस्या आएको उहाँको भनाइ छ । भएका एम्बुलेन्स पनि उचित व्यवस्थापन नहुँदा चाहिएको समयमा उपलब्ध हुन मुस्किल हुने गरेको छ । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया