अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर 'चिल्ड्रेन पार्क' र 'ओपन जिम क्लब' बनाउँदै ठाकुरबाबा नगरपालिका

 फागुन ३, २०७९ बुधबार १५:१४:२३ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरभित्र अतिक्रमित सरकारी तथा ऐलानी (सार्वजनिक) जग्गा खाली गराउने अभियान सुरु गरेको छ । वर्षाैँदेखि सरकारी तथा ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाउन सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । 

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँ बजार क्षेत्रको १७ कट्ठा अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर चिल्ड्रेन पार्क र ओपन जिम क्लब बनाउन थालिएको मेयर लम्सालले बताउनुभयो । अतिक्रमित सार्वजनिक जग्गालाई नगरपालिकाले आफ्नो मातहतमा लिएर सार्वजनिक संरचना निर्माण गर्ने अभियान पनि सुरु गरेको छ । सुरुमा नगरपालिकाको कार्यालय रहेको मुख्य बजार भुरिगाउँ क्षेत्रमा स्थानीयद्वारा अतिक्रमित १७ कट्ठा सरकारी तथा ऐलानी जग्गा खाली गराएर चिल्ड्रेन पार्क र ओपन जिम क्लब बनाउन थालिएको हो । 

वर्षाैँदेखि बजार क्षेत्रमा स्थानीयले अतिक्रमण गरेको १७ कट्ठा सार्वजनिक जग्गा खाली गराएर सिँचाइ नहरसहित बालबालिका तथा वृद्धवृद्धा पार्क र बिहान मर्निङ वाक गर्न तथा खुल्लारूपमा व्यायाम गर्न सहज हुने गरी हरियाली पार्क बनाउन सुरु गरिएको मेयर लम्सालले बताउनुभयो । 

ठाकुरबाबा नगरपालिकाभित्रका धेरैजसाे वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्ने जानकारी पाएपछि नगरपालिकाका जनप्रतिनिधि अमिनसहित पुगेर नाप नक्सा गर्दा अतिक्रमित सार्वजनिक जग्गामा पर्ने संरचना मेयर तथा वडाका जनप्रतिनिधिको उपस्थितिमा हटाइएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । 

सिँचाइ नहरसमेत रहेकाले नहर निर्माणको काम बबई सिँचाइ आयोजनामार्फत बनाउने र तारबार तथा वृक्षारोपण गरेर पार्क बनाउने गरी काम अघि बढेको छ, त्यसका लागि सिँचाइ आयोजना र नगरपालिकाबाट गरी झन्डै दुई करोड रुपैयाँ रकम लाग्ने अनुमान गरिएको छ । 

अतिक्रमित जग्गा खाली गराएर मेयर, वडा नम्बर १ का जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक कर्मचारीसहितको टोलीले डोजर लगाएर खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ भने काठमाण्डौबाट आएका विज्ञ टोलीले पार्कको डिजाइन बनाइरहेका छन् । ‘काम सुरु भइसक्यो, अब ४ देखि ६ महिनामा वृक्षारोपण गर्ने र प्रयोगमा ल्याउने योजना छ’, मेयर लम्सालले भन्नुभयो ।    

नगरपालिकाका अन्य वडाहरूमा पनि अतिक्रमित सार्वजनिक जग्गा खोजी गरी आफ्नो मातहतमा लिएर नगरवासीकाे आवश्यकता र मागअनुसार सार्वजनिक संरचना निर्माण गरिने मेयर लम्सालले बताउनुभयो । 

नगरभित्र कतै पनि खुला पार्क छैन, बजारमा खुला पार्क बनाउन लागेकोमा नगरवासी खुसी भएका छन् । अहिलेसम्म सरकारी तथा ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर सार्वजनिक स्थल निर्माण गर्नेतर्फ कसैले पनि चासो नदिएको तर अहिले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरु भएकोमा धेरैजसाे नगरवासीले नगरपालिकाको राम्रो काम भन्दै प्रशंसा गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया