साविक विजेता आर्मी मकवानपुर गाेल्ड कपकाे पहिलो खेलबाटै बाहिरियो, एपीएफ सेमिफाइनलमा

 फागुन ४, २०७९ बिहिबार २०:२१:३२ | हरि हुमागाईं
unn.prixa.net

मकवानुपर – साविक विजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब हेटौँडामा चलिरहेकाे पाँचाैँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

हेटौँडा उपमहानगरपालिका ५ काे पिप्ले क्याम्पा रङ्गशालामा बिहीवार भएको खेलमा आर्मी अर्काे विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) सँग पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित भयाे । आर्मी र एपीएफले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियाे । 

पेनाल्टी शुटआउटमा एपीएफलाई जिताउन गोलरक्षक राजु नगरकोटी नायक बने । उनले आर्मीका क्याप्टेन नवयुग श्रेष्ठ र दीपक गुरुङको लगातार दुई पेनाल्टी प्रहार रोके । एपीएफका क्याप्टेन नविन लामा, सुदीप सिखाकार, सनिष श्रेष्ठ र दिपेश धिमालले गोल गरे । आर्मीका टेकबहादुर बुढाथोकी र विकास खवासले मात्रै गोल गर्न सफल भए ।

खेलको म्यानअफ द म्याच एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

जितसँगै एपीएफ मकवानपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता आर्मी भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब एपीएफले आयोजक टोली मकवानपुर–११ र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीको खेल भोलि शुक्रवार दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १५ लाख र उपविजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृट खेलाडीले बाइक र विधागत उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०६२/०६३ को जनआन्दोलनका शहीदहरूको स्मृतिमा २०६४ सालमा हेटौँडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल सङ्घले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया