आठ सय ७१ नेपाली खाडी र मलेसियाका जेलमा

 बैशाख १३, २०८० बुधबार १४:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ ।

पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली विभिन्न फौजदारी अभियोग लागेर जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

बोर्डसँग रहेको तथ्याङ्क अनुसार खाडीको देश साउदी अरेबियाको जेद्दामा ५२ जना, साउदीकै रियादमा ३४६ जना, यूएईमा १८१ जना, कतारमा ६१ जना, कुवेतमा ७१ जना बहराइनमा १३ जना र ओमानमा ५ जना जेल जीवन बिताइरहेका छन् ।

यस्तै नेपालीहरूको रोजाइको म गन्तव्य देश मलेसियामा १४२ जना विभिन्न फौजदारी अभियोगमा जेल परेको तथ्याङ्क प्राप्त भएको बोर्डले जनाएको छ । तर दूतावासले उपलब्ध गराएको यो तथ्याङ्क र अहिलेको अवस्थामा कतिपय सजाय काटेर देश फर्किसकेको हुन सक्ने बोर्डको भनाई रहेको छ ।

बढे विदेशमा जेल पर्ने

पछिल्लो छ सात वर्षयता विदेशमा नेपालीहरू जेल पर्ने क्रम बढेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।  ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले सन् २०१६ मा आठ सय मात्र नेपाली विदेशका जेलमा रहेकोमा सन् २०२१ मा यो सङ्ख्या बढेर १०३० पुगेको देखाएको छ ।

सन् २०२१ मा सबैभन्दा धेरै यूएईमा श्रमिकहरू जेलमा रहेका यो प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार त्यस बेला यूएईमा २६० जना, मलेसियामा २२३ जना, कुवेतमा १६८ जना, साउदी अरेबियामा १५३ जना र हङ्कङमा ८८ जना जेलमा रहेका थिए ।

आयोगले विभिन्न देशमा रहेका २७ वटा नेपाली दूतावासहरूसँग लिएको तथ्याङ्कले एक हजार ३० जना नेपाली विदेशका जेलमा रहेको देखाएको थियो ।

यसरी जेल परेका मध्ये ७.२ प्रतिशतले मात्र दूतावासबाट कानुनी प्रतिरक्षा पाएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया