साउदीमा रहेको नेपाली दूतावासले पनि दिन थाल्यो पुनः श्रम स्वीकृति, घरेलु श्रमिकले पनि लिन सक्ने

 बैशाख २६, २०८० मंगलबार ११:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालेको छ ।

यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ । 

दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि श्रम स्वीकृति नवीकरण दूतावासबाटै गर्न सक्छन् । श्रम: नवीकरणका लागि वैदेशिक रोजगार विभागको feims.dofe.gov.np मार्फत आवेदन दिन पर्छ । 

आवेदन दिनका लागि राहदानीको फोटोकपी, इकमाको फोटोकपी, रि इन्ट्री भिसा(छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि र बिदा सकिने अवधि खुलेको कागज र रि इन्ट्री भिसा नभएकाहरूले इकमाको म्याद खुलेको छाप वा अबसिरबाट इकमाको म्याद देखिने गरी स्क्रिनसट गरिएको फोटो अपलोड गर्न पर्छ । 

साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्रका साथै सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ ।

यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्ने दूतावासले जनाएको छ ।

साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाहरूले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता(कफिलको आइडी)को परिचयपत्र, तलब, भत्ता लगायत अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेस गर्नुपर्छ ।

सबै विवरण भरेर आवेदन दिएपछि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ । यसअघि मलेसिया र कतारमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् । यसअघि विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।

पछिल्लो समय अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था भए पनि कुनै कागजात वा केही प्रक्रिया नमिल्दा श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।

जसको कारण लामो समयसम्म विदेशमा श्रम स्वीकृति बिनै बस्ने र यही बेला कुनै भवितव्य भयो भने सरकारी राहतबाटसमेत वञ्चित हुने अवस्था भएपछि सरकारले विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

पुनः श्रम स्वीकृति सहज रूपमा अनलाइनबाट आफैँले भर्न सकिने भएकाले सकेसम्म आवेदन आफैँ दिन र यदि आफूले नजानेमा सहयोगी व्यक्ति, संस्था वा आफ्नो पालिकाको सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया