नक्कली भुटानी शरणार्थी प्रकरण : गिरोहको धन्दालाई राजनीतिक र प्रशासनिक आड !

 बैशाख २८, २०८० बिहिबार १२:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा ठूला नेता र कर्मचारीसमेत समातिन थालेपछि यसले सडक र सदनसम्म तताएको छ । ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन्।

बुधवार पक्राउ परेका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता खाणले बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको प्रमाण प्रहरीले फेला पारेको छ । ठगीमा सघाएबापत खाणले बिचौलियाबाट एक करोड २४ लाख रुपैयाँ लिएको यसअघि पक्राउ परेका अभियुक्तहरुले  बयान दिएका छन् ।

यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पनि प्रहरीलाई दिएको बयानमा खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको उल्लेख गरेका छन् । खाणसँगै पक्राउ परेका उनका स्वकीय सचिव नरेन्द्र केसीले ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको अभियुक्तहरुको बयान छ ।

यही प्रकरणमा मंगलवार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ । सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् । 

पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार छन् । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ। 

गिरोहले बनाएको योजनामा यसरी भयो साँठगाँठ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका मुख्य योजनाकार मोरङका केशव दुलाल रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी २०६६ जेठदेखि २०६७ माघसम्म परराष्ट्रमन्त्री रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव थिए । कोइरालाको स्वकीय सचिव भएर काम गर्दा उनलाई भुटानी शरणार्थीको प्रमाणीकरण र तेस्रो देश पठाउने पद्धतिवारे जानकारी थियो ।

२०७४ फागुनमा केपी शर्मा ओलीको नेतृत्वमा एमाले र माओवादी सम्मिलित सरकार बनेपछि रामबहादुर थापा गृहमन्त्री र प्रेमकुमार राई गृह सचिव थिए । तत्कालीन गृहमन्त्री थापाको पालामा प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली सङ्कलनको काम सुरू भएपछि दुलालले नक्कली शरणार्थी बनाएर रकम असुल गर्ने योजना बनाए । उनले आफ्नो योजना ललितपुरका सानु भण्डारीलाई सुनाए । उनी तत्कालीन नेकपाका नेता टोपबहादुर रायमाझीको नजिक बसेर काम गर्थे र रायमाझीलाई मामा बनेर बोलाउँथे ।

दुलाल र भण्डारीले भुटानी शरणार्थीको नयाँ सूचीमा नक्कली शरणार्थीलाई पनि समावेश गराइ अमेरिका पठाउन सकिने र त्यसबाट मोटो रकम हात पर्ने योजना बनाए । यसका लागि गृह मन्त्रालयको सहयोग चाहिन्थ्यो र गृहमन्त्री, गृहसचिव लगायतका उच्च पदाधिकारीलाई हातमा लिनुपर्थ्याे । आफ्ना साथी दुलालसँग मिलेर बनाएको योजनावारे भण्डारीले नेता रायमाझीलाई सुनाए।

त्यसपछि उनीहरु तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईको सम्पर्कमा पुगे । ठूलो रकम हात पर्ने देखेपछि रायमाझी र राई पनि योजनामा सहमत भएको उनीहरुले प्रहरीलाई बयान दिइसकेका छन् । गृह मन्त्रालयमा पकड जमाएपछि उनीहरु भुटानी शरणार्थी समस्या समाधानको नाममा कार्यदल गठन गराउन र त्यसमा आफूले रोजेकै व्यक्तिलाई नियुक्ति दिलाउन सफल भए ।

२०७६ जेठमा शरणार्थीको व्यवस्थापन, जीविकोपार्जनलगायतमा सरकारले गर्नुपर्ने दायित्ववारे रायसहित प्रतिवेदन पेस गर्न भन्दै गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गणेशबहादुर केसी र शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सम्मिलित तीन सदस्यीय समिति गठन भयो । अहिले ललितपुरको महाङ्काल गाउँपालिकाका अध्यक्ष रहेका केसी सानु भण्डारीका छिमेकी हुन् । भण्डारीकै आग्रहमा आफू कार्यदलमा बसेको केसीले बयानका क्रममा भनेका छन् ।

आफूले भनेअनुसार कार्यदल गठन भएपछि दुलाल र भण्डारी नक्कली शरणार्थीको खोजीमा लागे । उनीहरुले पूर्व क्षेत्रका लागि टंक गुरुङ र सागर राईलाई तथा पश्चिम क्षेत्रको लागि दाङका सन्देश शर्मालाई जिम्मा दिए । यो गिरोहले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक जनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको थियो ।

कार्यदलले २०७६ कात्तिकमा ४ सय २९ जनालाई भुटानी शरणार्थी परिचयपत्र दिन सिफारिस गरेको थियो । पछि अनुसन्धान हुँदा यो सूचीमा नक्कली शरणार्थी पनि भेटिए । त्यसपछि यो प्रतिवेदन तत्काल कार्यान्वयनमा गएन । तर गिरोहहरु नक्कली भुटानी शरणार्थीको खोजी र प्रतिवेदन कार्यान्वयनको धन्दामा लागिरहे । ठगी गर्ने गिरोहले रामबहादुर थापा बादल गृहमन्त्री भएकै बेला पन्थी कार्यदलको प्रतिवेदन हात पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०७८ असारमा ओली नेतृत्वको सरकार फेरियो । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । रामबहादुर थापाको ठाउँमा बालकृष्ण खाण गृहमन्त्री बनेर आए । मन्त्रालयको जिम्मेवारी लिए लगत्तै उनले टेकनारायण पाण्डेलाई गृहसचिव बनाए । पाण्डे गृहमा आउनुको पछाडि तत्कालीन प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा र मञ्जु खाणको जोडबल थियो भन्ने विषयमा अहिले चर्चा भैरहेको छ । खाणले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै बेला नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ ठगी भएको भन्दै उजुरी परेको थियो । तर ठगी गर्ने गिरोहलाई कारबाही गर्नुको सट्टा खाणले उनीहरुसँगको मिलेमतोमा पैसा उठाएको प्रमाण प्रहरीले भेटेको छ । खाणले २०७८ साउनमा गिरोहका सदस्यहरुलाईसमेत सम्पर्क गरेर यस विषयमा अध्ययन गर्न सचिव पाण्डेलाई जिम्मा दिए ।

पक्राउ परेका अभियुक्तहरुले प्रहरीलाई दिएको बयानअनुसार उनीहरुले सचिव पाण्डेसँग पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, नेता रायमाझी लगायतले पैसा बुझेको, तर काम हुन नपाएको भन्दै काम भएमा अहिलेका सचिव र मन्त्रीलाई पनि पैसा दिने बताए । सचिव पाण्डेमार्फत गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन गृहमन्त्री खाणलाईसमेत भेट गरे । गिरोहका यिनै सदस्यहरुबाट आर्थिक लाभ लिएर सचिव पाण्डेले उनीहरुले बनाएको नक्कली प्रतिवेदन गृहमा राखेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

२०७८ असोजमा सचिव पाण्डेले सचिवस्तरीय निर्णय गरी भुटानी शरणार्थीसम्बन्धी बाँकी समस्या एवम् पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको सिफारिससम्बन्धी थप अध्ययन गर्न झापा प्रशासनलाई जिम्मा दिए । २०७८ मंसिरमा मन्त्रिपरिषद् बैठकले पन्थी संयोजक रहेको समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने, अवधि सकिएका शरणार्थीको परिचयपत्र नवीकरण तथा पहिले परिचयपत्र दिँदा नाबालक रहेकालाई विवरण अद्यावधिक गरी शरणार्थी परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७९ फागुनमा झापा प्रशासनले भुटानी शरणार्थीका नाममा रकम असुल्ने धन्दा भइरहेको भन्दै अनुसन्धान गर्न गृह मन्त्रालयलाई पत्र पठायो । त्यसको एक महिनापछि चैत १२ गते गिरोहका तीन जना केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ समातिए । चैत १५ मा सागर थुलुङ राईलाई पनि प्रहरीले पक्राउ गर्यो । उनीहरुकै बयानका आधारमा गिरोहका अरु सदस्य पनि समातिए ।

यही क्रममा अघिल्लो हप्ता बुधवार सचिव पाण्डे पक्राउ परे । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल 'फर्म्याट' गरेका थिए । सचिव पाण्डेको मोबाइल ‘रिकभर’ गर्दा उनी र गिरोहबीच निरन्तर सम्पर्क रहेको र पूर्व गृहमन्त्री खाणसँग रकम लेनदेन गरेको प्रमाण प्रहरीले फेला पारेको छ । सचिव पाण्डेको बयान र मोबाइलमा भेटिएको प्रमाणकै आधारमा प्रहरीले खाणलाई बुधवार बिहान निवासबाटै पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेकाहरूको बयान र ‘अडियो क्लिप’बाट कांग्रेस नेतृ आरजु राणा देउवा र मञ्जु खाणको पनि नाम जोडिएको छ । केही दिनअघि सार्वजनिक भएको अडियोमा मञ्जुले बिचौलियाबाट साढे ६ करोड रुपैयाँ लिएको र आरजुको पनि अढाई करोड रुपैयाँ बुझेको भनिएको छ । यो अडियो झुटो भएको आरजुको दाबी छ । प्रहरीले अडियोको वास्तविकतावारे अनुसन्धान भैरहेको जनाएको छ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नविन कुमार बि.क

    May 11, 2023, 5:05 p.m.

    यसो ह्रदै खोज्दै जाने हो भने यहा साना दखि ठूला सवै को मिले मतो हुन्छ कसैलाइ केहि भन्न सकिदैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया